'सिधा कुरा डटकम अनलाइन' विरूद्धको अवहेलना मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी छ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको सर्वोच्चको वेभसाइटमा उल्लेख छ।
न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले जेठ ३० गते उक्त मुद्दालाई बृहत पूर्ण इजालसमा पठाउन आदेश गरेको थियो।
सोही आदेशअनुसार ९ जना न्यायाधीश सम्मिलित पूर्ण इजलास गठन गरी सर्वोच्चले बिहीबारदेखि सुनुवाइ सुरू गरेको हो।
बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन्।
सिधा कुरामा प्रकाशित सामग्रीमाथि अनुसन्धान गरेर फौजदारी मुद्दामा कारबाही गर्नुपर्ने देखिएमा गर्नु भन्दै यसअघिको इजलासले प्रहरीलाई आदेश गरेको थियो।
सर्वोच्च अदालतले 'सिधा कुरा डटकम' मा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई जोडेर लेखिएका समाचारमाथि विस्तृत अनुसन्धान गरी फौजदारी कानुन उल्लंघन गरेको देखिए कारबाही अघि बढाउन वैशाख १७ गते आदेश दिएको थियो।
अख्तियारले गर्ने स्टिङ अपरेसन सम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले 'डार्क फाइल्स' भन्ने शृंखलाबद्ध समाचार प्रकाशन प्रसारण गरेको थियो।
सिधा कुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा लेखेका समाचार २४ घण्टाभित्र हटाउन पनि सर्वोच्चले आदेश दिएको थियो।
त्यसपछि सिधाकुरा डटकमले पनि ती शृंखलामा प्रसारण गरिएका सामग्री स्थगन गरेको थियो।