भक्तपुरको कौशलटारमा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ।
गएराति साढे १० बजे मध्यपुरथिमी नगरपालिका-३ कौशलटारस्थित शंकर कटुवालको घरमा आगलागी भएको हो।
दुइतले घरको पहिलो तल्लामा फर्निचर उद्योग सञ्चालनमा रहेकोमा विद्युत् सर्ट भएर आगलागी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन्।
आगलागीबाट त्यहाँ रहेका प्लाइउड, आल्मोनियम र पाइपको जलेर नष्ट भएका छन्।
गएराति घरमा कोही नभएकाले मानवीय क्षति भने हुन पाएन। घरधनीका परिवार पुजामा गएका थिए।
आगलागीपछि उपत्यकाका विभिन्न स्थानीय तहबाट पाँच वटा दमकल परिचालन गरिएको थियो।
आगलागी राति पौने १२ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
आज मुचुल्का गरेपछि मात्रै क्षतिको संकलन हुने कार्यालयले जनाएको छ।