कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ।
शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजाअनुसार यसपालि ४ मा चारै जिपिए ल्याउने विद्यार्थी शून्य रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
त्यस्तै ३.६१ देखि ४ जिपिए ल्याउने ९ हजार ५९१ जना छन्।
जिपिए ३.२१ देखि ३.६० ल्याउने ४६ हजार ८९३ जना छन्।
२.८१ देखि ३.२० जिपिए ल्याउने परीक्षार्थीको संख्या ७८ हजार ७५ जना छन्।
जिपिए २.४१ देखि २.८० ल्याउनेको संख्या ६१ हजार ३६, जिपिए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ८ हजार २४० जना छन्।
१.६० देखि २.० जिपिए ल्याउने विद्यार्थी संख्या १२ जना छन्।
यसरी कुल ३ लाख ९० हजार ८६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८४७ जनाको ग्रेडिङ भएको छ। अर्थात् ५२.९१ प्रतिशत उत्तीर्ण भएका छन्।
परीक्षा नियन्त्रक शर्माका अनुसार १८७ हजार २१ जना विद्यार्थी नन ग्रेडमा परेका छन्। तीमध्ये १ लाख २७ हजारले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।
कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नै प्रकाशन गरिएको हो। उक्त निर्देशिकाले ग्रेडिङमा पर्न प्रत्येक विषयमा कम्तिमा ३५ अंक ल्याउनपर्ने व्यवस्था गरेको छ।
३५ भन्दा कम अंक आएका परीक्षार्थी ननग्रेडिङमा पर्छ।

त्यस्तै निर्देशिकाले ४ जिपिए ल्याउनेलाई ए प्लस, ३.२ देखि ३.६ जिपिएसम्म ए, २.८ देखि ३.२ सम्म बी प्लस, २.४ देखि २.८ सम्म बी, २.० देखि २.४ सम्म सी प्लस, १.६ भन्दा बढी र २.४ भन्दा कम जिपिएसम्म सी र १.६ जिपिएलाई ‘डी’ग्रेड भनी निर्धारण गरेको छ।
दुइवटासम्म विषयमा ननग्रेड आएका परीक्षार्थी ग्रेड वृद्धी परीक्षामा भाग लिन पाउनेछन्।
शर्माका अनुसार भदौ २५ र २६ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ। दुइभन्दा बढी विषयमा ननग्रेड आएका परीक्षार्थीहरूले भने अर्को वर्ष परीक्षा दिनुपर्नेछ।