चितवनको सिमलतालमा पहिरो खसेर बेपत्ता भएको दुई वटा बस बेपत्ता बनेको विषयमा अध्ययन गर्न बनेको कार्यदलले नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारको निरीक्षण गरेको छ।
शुक्रबार बिहान सहसचिव छवि रिजालको संयोजकत्वमा बनेको कार्यदल शिक्षालयको निरीक्षण गरेको हो।
कार्यदललाई गृहले सुरूमा १० दिनको समय दिएको थियो। उक्त समय सकिएपछि थप ७ दिनको समय थपिएको थियो। अबको केही दिनमै यस कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ।
यही घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन्।