कैलालीमा गुडिरहेको अटो रिक्साबाट हामफाल्दा एक जना महिलाको मृत्यु भएको खुलेको छ।
बुधबार गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा मेडिकल कलेज नजिकै सडकमा एक जना महिला घाइते अवस्थामा फेला परेकी थिइन्।
उनी धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी थिइन्। प्रहरीले घाइते अवस्थामा फेला पारेका उनलाई अस्पताल पुर्याउँदा उपचारको क्रममा मृत्यु भएको हो। कुमारी सडकमा कसरी घाइते अवस्थामा फेला परिन् भन्ने खुलेको थिएन। यद्यपि घटनाबारे दुई दिन छानबिन गरेपछि प्रहरीले मृत्यु हुनुको कारण पत्ता लगाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार झोलामा भेटिएको पासपोर्ट साइजको फोटोबाट पहिचान खुलेको हो। फोटोमा स्टुडियोको नाम उल्लेख थियो। जहाँबाट महिलाको पहिचान खुलेको हो।
उनी बुधबार माइती हिँडेकी थिइन्। प्रहरीका अनुसार कुमारी सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बर अटोमा चढेर जाँदै थिइन्। तर अटो चालकले गेटाबाट भित्री सडक लैजान खोजेपछि उनले आत्तिएर हामफालेको एसपी विष्टले बताए।
अटो चालकले मापसे गरेको खुलेको हो। गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिमा अटो आँखा अस्पताल तर्फको भित्री सडकमा लैजान खोजेका थिए।
सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन्। उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पुर्याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका थिए।
‘घटनाको केही समयपछि उनको उद्धार गरिएको थियो। तर टाउकोमा चोट लागेका कारण उनको मृत्यु भयो,’ विष्टले भने, ‘अटो चालक र अटोमा सवारलाई पक्राउ गरेका छौं| थप अनुसन्धान हुँदै छ।’
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ती महिलाले अटोबाट हामफालेपछि फसिने डरले आफू भागेको दमाईले प्रहरीसमक्ष बताएका छन्।
शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अहिले पनि महिलाको शव आफन्तले बुझेका छैनन्।