रोल्पामा पहिरोले घर पुरिएको छ।
शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो।
पहिरोले घरसँगै दुई जनालाई पुरेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए।
घरमा देउसिंहकी आमा ६० वर्षीया बसुना सुनार र ४ वर्षीया छोरीलाई पुरेको स्थानीयले बताएको डिएसपी लामाले जानकारी दिए।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए।
देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ।
सूचना पाउनासाथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए ।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको हुँदा उद्धारमा समस्या भइरहेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता केशवराज बाराकोटीले उक्त घरमा बस्ने हजुरआमा र नातिनी नभेटिएका कारण पहिरोमा घरसँगै पुरिएको हुनसक्ने बताए।
त्यस ठाउँमा फोन सम्पर्क पनि नभएका कारण थप जानकारी लिनका लागि कठिन भइरहेको पनि उनले बताए।‘पहिरोले एउटा घर पुरै पुरेको भन्ने छ,’ उनले भने, ‘प्रहरी र स्थानीयले मिलेर उद्धारको प्रयास जारी राखेको छन्।’
सुलिचौर लगायतका ठाउँबाट पनि उद्धार र खोजीका लागि थप प्रहरी घटनास्थल पठाइएको उनले बताए।