चितवनको नारायणघाट नजिकै नारायणी नदीको किनारमा जंगली जनावरको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।
आइतबार बिहान सवा ५ बजेतिर मर्निङ्वाक गरिरहेका भरतपुर-२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघजस्तो देखिने जंगली जनावरले आक्रमण गरेको हो।
घाइते श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।
उनको मुख र हातमा चोट लागेको छ।
आक्रमण गर्ने जनावरलाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको टोलीले काम सुरु गरेको छ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख थीरबहादुर कार्कीले बाघ र चितुवामध्ये केले आक्रमण गरेको हो निश्चित नभएको बताए।
‘घाइतेले बाघ भनेका छन्। तर हामीले बाघ नै हो भनेर यकिन गरेका छैनौं। त्यो रेडियो कलर जोडिएको बाघ होइन रहेछ,’ कार्कीले भने, ‘हामीले खोजी सुरु गरेका छौं। चितवन निकुञ्जको पनि सहयोग मागेका छौं।’