काठमाडौंमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित सौराहा होटल नजिकै आइतबार दिउँसो पौने २ बजे खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
धनगढी घर भई आलोकनगर बस्ने २२ वर्षीय मनत केसीमाथि खुकुरी प्रहार भएको हो।
उनीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सिन्धुली घर भई आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र दार्जुला घर भई गोठाटार बस्ने १९ वर्षीय प्रेम सिंह महरालाई पक्राउ गरेको हो।
केसी र उनीहरूबीच विवाद हुँदा खुकुरीले प्रहार गरेको हो। खुकुरी प्रहारबाट मनत केसीको दाहिने हातको औंला पूर्ण रूपमा क्षति भएको छ।
उनको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।