विदेशमा रहँदा साइबर अपराध गरेको आरोपमा एक जना नेपाल फर्किएपछि पक्राउ परेका छन्।
साइबर ब्युरोले तनहुँ घिरिङ गाउँपालिका-१ का ३५ वर्षीय सन्दिप थापा मगरलाई पक्राउ गरेको हो।
उनी रोमानियाबाट आइतबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
उनले पीडितको फेसबुक ह्याक गरी मेसेन्जरमा पीडित र पीडितका श्रीमानबीच भएको कुराकानीको गतिविधि संकलन गरेका थिए।
त्यही सामग्रीलाई उनले नक्कली खाता खोलेर पीडितका आफन्तलाई पठाएर ब्ल्याकमेल गरी मानसिक तनाव, दु:ख हैरानी दिएर चरित्र हत्या गरेको आरोप छ।
पीडितले साइबर ब्युरोमा निवेदन दिएपछि अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान गर्दा मगर वैदेशिक रोजगारीका लागि रोमानियामा रहेको खुलेको थियो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको थियो।
उनी फर्किएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई सोमबार अदालतमा उपस्थित गराएको छ।