काठमाडौंमा लैंगिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका २६ देशका अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
मंगलबार राष्ट्रिय मानव अधिकार संस्थाको एसिया प्रशान्त मञ्चसँगको समन्वयमा आगामी भदौ १८ देखि २० गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले जानकारी दिए।
उनका अनुसार उक्त सम्मेलनमा नेपाल सरकार, राष्ट्रिय मानव अधिकार संस्थाको एशिया प्रशान्त मञ्चमा आबद्ध २६ देशका राष्ट्रिय मानव अधिकार संस्था, राष्ट्रिय मानव अधिकार संस्थाको एसिया प्रशान्तमञ्च, मानव अधिकार उच्चायुक्तको कार्यालय, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपाल, युएन वुमेन, युएनएफपिए लगायतको सहभागिता रहने छ।
यस्तै, आयोगका अध्यक्ष तपबहादुर मगरले सम्मेलनले मानव अधिकार संस्था स्थापनासम्बन्धी पेरिस सिद्धान्त १९९३ को लैंगिक दृष्टिकोणबाट लेखाजोखा गर्दै राष्ट्रिय मानव अधिकार संस्थाभित्र लैंगिक समानता कायम गर्नमा देखिएका चुनौतीको पहिचान, समाधानका उपायसहित सुझाव प्रस्तुत गर्ने बताए।
'आयोगलाई बलियो बनाउन, बहुलवादको सिद्धान्तको पालना र लैंगिक मूलप्रवाहिकरणमा कसरी मानवअधिकार संस्था, सरकार, नागरिक समाज लगायतको समन्वय र सहकार्यमा काम गर्ने भन्ने सवालमा केन्द्रित रहेर छलफल हुनेछ,' उनले भने।
सम्मेलनले मानवअधिकार संस्थाहरूको आन्तरिक र बाह्य कार्यमा लैङ्गिक समानतामा देखिएका प्रणालीगत अवरोधको पहिचान गर्दै सम्बोधन गर्न र विश्वव्यापी मुद्दाको सामना गर्दा लैंगिक समानतालाई प्राथमिकतामा राख्ने विषयमा छलफल गरी निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
आयोगका सहसचिव सापकोटाले सम्मेलनमा १५० जनासम्म सहभागी हुने अनुमान गरिएको बताए।
उनका अनुसार हालसम्म भारत, फिजी, इन्डोनेसिया, इराक, जोर्डन, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, ओमान, फिलिपिन्स, कतार, थाइल्याड, टिमोरलगातयका १७ राष्ट्रका राष्ट्रिय मानव अधिकार संस्थाले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन् ।
तीन दिनसम्म चल्ने सम्मेलनमा विषय केन्द्रीत भई सात वटा सत्रमा छलफल हुने जनाइएको छ। सम्मेलनका बारेमा सम्पूर्ण जानकारी दिन आयोगले वेबसाइट समेत सञ्चालनमा ल्याएको छ। आयोगले सम्मेलनको सम्पूर्ण गतिविधिबारे जानकारी दिन जेन्डर कन्फ्रेन्स एनएचआरसी वेबसाइट सञ्चालनमा ल्याएको हो।