पूर्वको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र धाम जाने बाटो पहिरोले अवरूद्ध पारेपछि श्रद्धालुहरू बाटैमा रोकिएका छन्।
बुधबार बराह जयन्तीकै दिन बिहानैदेखि बाटोमा पहिरो खस्दा श्रद्धालुहरू बराहक्षेत्र पुग्न सकेका छैनन्। बराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको धाम जाने बाटोको दुई ठाउँमा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ।
कोसी पुलदेखि बराहक्षेत्र धाम जाने बाटोको दुई ठाउँमा लगातार ढुंगासहितको पहिरो खसिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख विकास राईले जानकारी दिए।
बराह जयन्तीकै दिन भएकोले तीर्थालुहरू बिहानैदेखि बराहक्षेत्र धाम जानका लागि त्यहाँ पुगेपनि पहिरो खसेर बाटो अवरूद्ध बनेपछि जान नपाएको उनले जानकारी दिए। बिहानैदेखि धनसरे खोला र १७ नम्बर पुलको भीरमा चट्टानसहितको पहिरो खसिरहेको उनले बताए।
लगातार भीरबाट ढुंगा खसिरहेका कारण पहिरो पन्छाउनका लागि गएको स्काभेटर पनि फर्काउनु परेको प्रहरीले जानकारी दिएको छ।
सडक अवरुद्ध हुँदा बराहक्षेत्र धाममा पुगिसकेका तीर्थालुहरू भने त्यही अलपत्र परेका छन्। कोसी नदीमा बाढी आएर जलसतह माथि आएका कारण त्यहाँ मोटरबोट समेत सञ्चालन हुन सकेको छैन।
बराह जयन्तीका अवसरमा नेपालसहित भारतबाट हजारौं तीर्थयात्रीहरू आज बराहक्षेत्र पुग्ने गर्दथे। पहिरोले सडक अवरुद्ध हुँदा दुवैतिर तीर्थालुहरू रोकिएका छन्।