पछिल्लो चौबिस घन्टामा सिन्धुपाल्चोक, दोलखा र बाजुरामा भारी वर्षा मापन भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ।
पछिल्लो चौबिस घन्टामा सिन्धुपाल्चोकको बाह्रबिसेमा ५२ मिलिमिटर, चन्दर्कुमा ६१ मिलिमिटर, गोब्रेमा ५३ मिलिमिटर, बासखर्कमा ७६ मिलिमिटर, बोल्देमा ६७.२ मिलिमिटर, ढुंगेमा ७१.२ मिलिमिटर, तार्केमा ६८.८ मिलिमिटर, मेलम्चीमा ६९.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
दोलखाको सिंगटीमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो चौबिस घन्टामा ५१.४ मिलिमिटर वर्षा मापन भएको छ। बाजुरामा पनि पछिल्लो चौबिस घन्टामा ६४.६ मिलमिटर वर्षा मापन भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
बिहीबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र राति कोशी, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।