तस्कर समूहले लागुऔषध कोकिन किनबेच गर्न अनेक जुक्ति लगाउने गर्छन्।
कहिले सुटकेशमा फल्सबटम बनाएर त्यसभित्र राखेर त कहिले कपडाको बटन बनाएर तस्कर समूहले अनेकगरी कोकिनलाई गन्तव्यसम्म पुर्याउने कोसिस गरिरहेका हुन्छन्।
यसो त तस्कर समूहले मानिसको ज्यान नै जोखिममा राखेर क्याप्सुल निल्न लगाएर समेत पठाउने गर्छन्।
यसरी विभिन्न माध्यमबाट कोकिन तस्करी गर्दा उक्त समूहले विशेषगरी अफ्रिकी मूलका मानिसहरूलाई प्रयोग गर्ने गर्थे। तर यसपालि युरोपेली नागरिकलाई नै भरिया बनाएर नेपाल पठाएको खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी दिनेश आचार्यका अनुसार यसरी पहिलो पटक युरोपियन नागरिकको प्रयोग भएको हो। ब्युरोले बुधबार बिहान करिब २ बजे कतार एयरलाइन्सबाट काठमाडौं आइपुगेका एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ५१ वर्षीय लाट्भियन नागरिक इभार्स भाल्टर्स छन्। उनले एउटा सुटकेश बोकेका थिए। जसभित्र तीन वटा खेलौना थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि प्रहरीलाई शंका लागेर जाँच गरेको थियो। खेलौनाभित्र हेर्दा क्याप्सुलहरू बरामद भएका हुन्। ब्युरोका अनुसार त्यसभित्र २९२ वटा क्याप्सुलमा कोकिन राखिएका थिए।
उनी लाट्भियाबाट २ अगष्ट मा फ्रान्स गएका थिए।
लाट्भियामा उनी एक्लै बस्छन्। रूसी भाषा बोल्ने उनीसँग कुराकानी गर्न प्रहरीले दोभाषेको प्रयोग गरेको छ। दोभाषेमार्फत् कुराकानी गर्दा आफ्नो घरमा घरपालुवा जनावरबाहेक अरू कोही नभएको बताएका छन्।
यसरी एक्लै बस्ने उनलाई कोही आफन्तले फ्रान्सको पेरिस हुँदै नेपालसम्म पुग्ने अफर गरेको एसएसपी आचार्यले बताए।
‘ऊ लाट्भियाबाट पेरिस गएर केही दिन बस्यो। घुम्न आएको पर्यटक हो भन्ने देखाउन पनि उनी त्यहाँ केही दिन बसे,’ उनले भने, ‘पेरिसमा युरोपियन मूलकै कोही एक जनासँग भेट भएको देखिन्छ।’
ती युरोपियन नागरिकले पनि कतारमा सामान लिएर नेपाल जानू त्यसबापत केही रकम पाइने आश्वासन दिएको पनि प्रहरीले जनाएको छ।
उनी ५ अगष्टमा फ्रान्सबाट कतारको दोहा पुगे। दोहाको विमानस्थलको एक ठाउँमा गएर सेल्फी लिएर पठाउनू भन्ने निर्देशन उनलाई थियो।
उक्त निर्देशन अनुसार उनले फोटो पठाएपछि एक जना व्यक्तिले विमानस्थलमै कोकिन रहेको खेलौना ल्याइदिए। कोकिन क्याप्सुलभित्रै राखेर ल्याइएको हुँदा दोहासम्म कसैले निलेरै ल्याएको हुनुपर्ने पनि प्रहरीको अनुमान छ।
विमानस्थलभित्रै त्यसरी ल्याइदिएपछि उनी आफू पक्राउ नपर्नेमा ढुक्क थिए। तर जसो त्यहाँबाट नेपाल आइपुगे उनी पक्राउ परे। दोहामा उनलाई लागुऔषध कोकिन थमाउने व्यक्ति भने अफ्रिकी मूलकै भएको एसएसपी आचार्यले बताए।
उनका अनुसार यो लागुऔषध पनि भारतमै तस्करी गर्न लागेको अनुमान छ। यद्यपि यी युरोपियन नागरिकमार्फत् अन्य व्यक्तिहरू भने पक्राउ पर्न सकेनन्।
‘विमानस्थलबाट उनी पक्राउ परेसँगै सूचना चुहियो। त्यसपछि थप मानिस पक्राउ गर्न सकिएन,’ एसएसपी आचार्यले भने।
अघिल्ला केही अपरेसनमा प्रहरीले कोकिन तस्करी गर्दा सामान लिन भारतबाट आउने अर्को व्यक्तिसम्मलाई पक्राउ गर्ने गरेको छ।
यसरी पटक/पटक नेपाललाई माध्यम बनाएर तस्करी गर्नेहरू नाइजेरियन समूह रहेको पनि एसएसपी आचार्यले बताए।
अहिले बरामद भएको कोकिनको अवैध बजारमा २१ करोड ८ लाख रुपैयाँ रहेको पनि उनले बताए।
पक्राउ परेका भाल्टर्समाथि ब्युरोले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको छ। उनीमाथि १५ वर्षदेखि जन्मकैद र ५ लाख देखि २५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।