रूस–युक्रेन युद्धमा मारिएका पाँच जना नेपालीको परिवारले पशुपतिस्थित आर्यघाटमा आफन्तको अस्तु विसर्जन गरेका छन्।
रूसको राजधानी मस्कोस्थित नेपाली दूतावासले बुधबार पाँच जना मृतकको अस्तु कतार एयरलाइन्समार्फत दोहा हुँदै काठमाडौं पठाएको थियो। बिहीबार मृतकका परिवारले उक्त अस्तु बुझेर पशुपतिस्थित आर्यघाटमा विसर्जन गरेका हुन्।
रूसी सेनामा आवद्ध नेपालीको उद्धार अभियानमा जुटेकी कृतु भण्डारीका अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्तु नेपाल आइपुगेको थियो।
रूसमा मारिएका पीडित परिवारले ‘सास कि लास’ स्वदेश फर्काइदिन नेपाल सरकारसँग आग्रह गरेका थिए। त्यसपछि रूसले डिएनए परीक्षणका लागि १५ जनाको परिवारको नमुना मागेको थियो। त्यसमध्ये पाँच जनाको मात्र अस्तु आइपुगेको उनले जानकारी दिइन्।
‘रूसमा कति नेपाली छन् भन्ने अहिलेसम्म वास्तविक तथ्यांक छैन, हामीसँग हजारौं मानिस जोडिएका छन्,' उनले भनिन्।