नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा बिदामा बसेका छन्।
बिहीबार जंगी अड्डामा आयोजित एक समारोहबीच प्रधान सेनापति शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन्।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषदको बैठकले गत साउन १४ गते सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो।
उक्त सिफारिस अनुसार राष्ट्रपति पौडेलले साउन २५ गते सिग्देललाई कायममुकायम प्रधान सेनापतिमा नियुक्त गरेका थिए।
प्रधान सेनापति शर्माको भदौ २४ गते पदावधी सकिँदैछ। सेनामा अवकासमा जानु एक महिना अगावै बिदामा जाने प्रचलन छ।
प्रभुराम शर्मा नेपाली सेनामा सहायक सेनानी दर्जामा प्रवेश गरेका थिए। उनी करिब ४१ वर्ष सेनाको सेवामा रहेका छन्।
जंगी अड्डामा आयोजित बुझबुझारथ कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेका थिए।