काठमाडौंमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २५ उग्रतारा मन्दिर अगाडि गत शुक्रबार राति साढे १० बजे एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
रूकुमपूर्ण सिस्ने गाउँपालिका वडा नम्बर ५का २४ वर्षीय सुमन खड्कामाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट खड्का गम्भीर घाइते छन्। उनको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।
घटनाबारे जानकारी पाएपछि कार्यालयबाट डिएसपी अनिल घिमिरेको नेतृत्वमा अनुसन्धान अघि बढाएको एसपी आचार्यले बताए।
उक्त घटनापछि फरार रहेका संखुवासभा खाँदबारी नगरपालिका-५का २५ वर्षीय मिङ्मा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई शनिबार काठमाडौंको पुरानो बसपार्कबाट पक्राउ गरेको हो।
एसपी आचार्यका अनुसार मिङ्मा र सुमन एक रेष्टुरेन्टमा मापसे गरिरहेका थिए। उनीहरूबीच कुनै पुरानो रिसइबी पनि नखुलेको एसपी आचार्यले बताए। तर मापसेकै क्रममा दुई जनाबीच विवाद भएपछि मिङ्माले आफ्ना दाइ रिन्जीलाई बोलाएको खुलेको छ।
‘पुरानो दुश्मनी केही देखिएको छैन। मापसेकै क्रममा विवाद भयो। त्यसपछि दाइलाई फोन गरेपछि खुकुरी लिएर आएको देखिन्छ,’ एसपी आचार्यले भने, ‘दुई पक्षबीच झगडा रेष्टुरेन्ट बाहिर भएको छ।’
यद्यपि घाइते खड्का बोल्न सक्ने अवस्थामा नरहेको हुँदा यकिन कारण पछि मात्रै खुल्ने उनले बताए। घाइते खड्काको टाउकोमा तीन ठाउँमा गहिरो चोट छ। त्यस्तै दाहिने हातमा पनि काटिएको घाउ छ।
थप अनुसन्धानका लागि दुबै जनालाई प्रहरी वृत्त जनसेवामा बुझाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद लिएको छ।