मेयर हर्क साम्पाङको उक्साहटमा परेर प्रदेश सरकारले बनाएको ग्याबिन पर्खाल भत्काएका धरान नगर प्रहरीका सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन्। आइतबार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो।
नगर प्रहरीका सहायक निरीक्षक मग्रातीले मेयर हर्क साम्पाङको निर्देशनमा धरान–१३ स्थित खहरे खोलामा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खाल भत्काएका थिए।
जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सोही आरोपमा उनलाई पक्राउ गरिएको हो।
कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा स्थानीय टोल विकास संस्थाले खोलामा तारजालीमा ढुंगा भरेर पहिरो रोकथामका लागि पर्खाल बनाएको थियो।
मग्रातीलाई पक्राउ गर्न शुक्रबार नै प्रहरी पुगे पनि मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले उनलाई आफै लिएर हाजिर गराउन आउने भन्दै अनुरोध गरेपछि प्रहरीले पर्खिएको थियो। तर, उनलाई लिएर आउने सम्भावना नदेखिएको भन्दै प्रहरीले नगर प्रहरी प्रमुख मग्रातीलाई पक्राउ पुर्जी जारी गरेरै पक्राउ गरेको हो।
पक्राउ परेका नगर प्रहरी मग्रातीलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ।
ग्याबिन भत्काएर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा प्रहरीले साउन २४ गते अरू तीन जनालाई पक्राउ गरिसकेको छ। धरानका भारती राई, राजकुमार राई र दिलकुमार राईलाई प्रहरीले पक्राउ गरिसकेको छ।
मेयर साम्पाङले पक्राउ पर्नुअघि भारती राईको गुनासोको आधारमा उक्त ग्याबिन भत्काउन नगर प्रहरी प्रमुख विष्णु कोइरालालाई निर्देशन दिएका थिए।
मेयरको निर्देशन बमोजिम नगर प्रहरीको टोली खहरेमा पुगे पनि स्थानीयको चर्को विरोधका कारण टोली फर्किएको थियो। यद्यपि मेयर साम्पाङले भने आफ्नो आदेश कार्यान्वयन नभएको भन्दै कोइरालालाई नगर प्रहरी प्रमुखबाटै हटाइदिएका थिए।
त्यसपछि साम्पाङले नगर प्रहरीका सहायक निरीक्षक मग्रातीको नेतृत्वमा टोली खटाएका थिए। घटनापछि धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले सार्वजनिक सम्पत्ति क्षति पुर्याएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
मेयर साम्पाङले भने नेपाल प्रहरीका एसएसपी भीम दाहालको निजी जग्गा जोगाउन प्रदेशको बजेट ल्याएको र उपमहानगरपालिकासँग समन्वय नगरेको आरोप लगाएका छन्। उनले खहरेको बीचमा जाली लगाएर बस्ती डुबाउन खोजेकोले भत्काउनु परेको दाबी गरेका छन्।