मकवानपुरमा एक जना महिलाको वीभत्स तरिकाले हत्या भएको खुलेको छ।
कैलाश गाउँपालिका वडा नम्बर ५ कालीखोलास्थित काफलडाँडा बस्ने २० वर्षीया लक्ष्मी पाख्रिनको हत्या भएको हो।
उनको हत्या आरोपमा प्रहरीले उनका २६ वर्षीय श्रीमान मंगलबहादुर पाख्रिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए।
उनका अनुसार मंगलबहादुर र लक्ष्मी पाख्रिन एक घरमा बस्छन्। मंगलबहादुरका आमा-बुवा घरदेखि अन्दाजी २५ मिटर टाढा रहेको अर्को घरमा बस्छन्।
आइतबार आमा-बुवा छोरा बुहारी बस्ने घरमा पुगेका थिए। तर त्यहाँ बुहारी लक्ष्मी थिइनन्।
बुहारीलाई नदेखेपछि छोरासँग आमा-बुवाले सोधीखोजी गरे।
‘बुहारी नदेखेपछि कहाँ गइन् भनेर छोरासँग बुबाले सोधेछन्,’ प्रहरी निरीक्षक पण्डितले भने, ‘बुवाले लामो समयसम्म सोधेपछि छोराले मारेको भनेर भन्यो। कहाँ छ भनेर भनेनन्।’
त्यसपछि सोमबार इलाका प्रहरी कार्यालय पालुङमा एक जना महिलाको हत्या भएको भन्नेबारे खबर भएको थियो। तर शव कहाँ छ भन्ने खुलेको थिएन।
त्यसदिन कार्यालयबाट टोली खटिएर श्रीमान मंगलबहादुरसँग सोधपुछ थालिएको थियो।
लामो समयसम्म सोधपुछ गरेपछि साँझ करिब ८/९ बजेतिर भने उनले हत्याको घटना स्वीकारे र शव लुकाएको ठाउँ पनि खुलाएको प्रहरी निरीक्षक पण्डितले बताए।
कालिखोलास्थित सामुदायिक वनमा गाडेको छ भनिएको थियो।
‘वनमा खोजी गर्दा बोरा जस्तो देखिएको थियो। त्यस ठाउँमा रातभर प्रहरीलाई घटनास्थल सुरक्षित बनाउन खटाइएको थियो,’ उनले भने, ‘मुचुल्काको टोली चाहिएको हुँदा भोलिपल्ट बिहानै ४ बजे प्रहरी निरीक्षकको कमाण्डमा टोली खटायौं।’
प्रहरी निरीक्षकको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएर शव उत्खनन् गरेको थियो।
प्रहरीलाई दिएको प्रारम्भिक बयानमा आरोपित मंगलबहादुरले श्रीमती लक्ष्मीलाई आइतबार दिउँसो साढे २ बजेतिर घरभित्रै हत्या गरेको बताएका छन्।
धारिलो हतियार बन्चरो प्रहार गरी शवलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हालेको प्रहरी निरीक्षक पण्डितले बताए।
ती बोरालाई उनले कालीखोलास्थित वनमा खाल्डो खनेर गाडेको भेटिएको हो।
त्यस्तै बन्चरोको बीँड फुकालेर घरभन्दा पूर्वतर्फ खाल्डो खनेर गाडेको पनि खुलेको छ।
प्रहरीले हतियार र कपडाहरू बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालका अनुसार घटनामा पक्राउ परेका मंगलबहादुर एक वर्ष सुधार केन्द्रमा बसेका थिए।
वडा कार्यालयले सञ्चालनमा ल्याएको सुधार केन्द्रमा एक वर्ष बसेर निस्किएका थिए। श्रीमान र श्रीमतीबीचको सम्बन्ध पनि राम्रो नभएको खुलेको छ। यद्यपि हत्या गर्नुपर्ने कारण नखुलिसकेको उनले बताए। उनीहरूका १३ महिने छोरी समेत छन्।
पक्राउ परेका आरोपीलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद अनुमती लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।