बियोण्ड बेइजिङ कमिटी (बिबिसी) ले महिला र बालिका सशक्तिकरणसँग सम्बन्धित बेइजिङ घोषणा र १४ वटा सवालमा छलफल गर्ने भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बिबिसीले महिलाको मानव अधिकारसम्बन्धी छलफल हुँदै आएको १२ र नयाँ २ सवालमा छलफल र समीक्षा हुने जानकारी दिएको छ।
बिबिसीका अध्यक्ष कृष्णकुमारी वाइबाले महिला गरिबी, शिक्षा, तालिम, स्वास्थ्य, हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र, शक्ति र निर्णयमा महिला, महिला विकासको लागि संस्थागत संयन्त्रहरू, महिलाको मानव अधिकार, महिला र सञ्चार, महिला र वातावरण, बालिकाको विषयमा यसअघिका कार्यक्रमहरूमा पनि छलफल हुँदै आएको बताइन्।
'यसपटक जलवायु परिवर्तन, महिला ज्येष्ठ नागरिकको विषयमासमेत छलफल हुनेछ,' उनले भनिन्।
यो कार्यक्रम शुक्रबार बिहान ८ बजेदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा हुनेछ। सेप्टेम्बर ४ देखि १५ गतेसम्म चीनको राजधानी बेइजिङमा हुने संयुक्त राष्ट्रसंघीय चौथो विश्व महिला सम्मेलनमा महिलाको स्थितिसम्बन्धी आयोग ६९ औं सत्रमा पेस गर्नका लागि यस कार्यक्रम गर्न लागिएको अध्यक्ष वाइबाले बताइन्।
विश्व महिला सम्मेलनमा सन् १९९५ देखि नेपाल पनि सहभागी हुँदै आएको छ। त्यसमा सहभागी हुनका लागि नेपालको महिलाको अवस्था, समस्या, सुधारको अवस्था र चुनौतीको विषयमा प्रतिवेदन पेस गर्नुपर्छ।
'त्यसका लागि बिबिसीले नेपालको सातै प्रदेशका विभिन्न जिल्लाहरूमा कार्यरत विभिन्न संघसंस्थाको प्रतिनिधी विज्ञहरूसहित छलफल र समीक्षा हुनेछ,' उनले भनिन्।
यस कुराकानीमा आएको निर्कष र सुझावलाई 'काठमाडौं घोषणा' पत्रको रूपमा सार्वजनिक गर्ने उनले जानकारी दिइन्। यो प्रत्येक पाँच/ पाँच वर्षको अन्तरमा हुने उनले बताइन्।