भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो १:४० बजेतिर ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो।
ट्रकको चक्काले स्कुटर चालक महिलालाई च्यापेको थियो। उनको पहिचान भइसकेको छैन।
शवलाई पोस्टमर्टम गर्न प्रहरीले त्रि.वि.शिक्षण अस्पताल लगेको छ।
कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रक चालक दुर्घटनापछि फरार भएका छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनापछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
घटनास्थलमा परिसरबाट प्रहरी उपरीक्षकको कमाण्डमा ८० जनाको टोली खटिएको थियो। त्यस्तै काठमाडौंबाट समेत ११५ जनाको थप टोली खटिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।