भक्तपुरको गठ्ठाघर बिहीबार दिनभरजसो तनावग्रस्त रह्यो।
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयहरूले सडक अवरोध गरे।
प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरे, ट्राफिक आइल्याण्ड र ट्रक तोडफोड गरे भने प्रहरीले पनि भिड नियन्त्रण गर्न भन्दै अश्रुग्यास प्रहार गर्यो।
बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो।
ट्रकको पाङ्ग्राले च्यापिएकी स्कुटर चालकलाई निकाल्नुअघि र निकालेर शव त्रिवि शिक्षण अस्पताल लगेपछि प्रदर्शनकारी र प्रहरीबीच तनावको स्थिति सिर्जना भएको थियो।
प्रदर्शनकारीहरूले ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरूमाथि पनि हातपात र दुर्व्यवहार गरेका भिडिओहरू सामाजिक सञ्जाल फेसबुकमा आएका छन्।
ट्राफिक प्रहरीले सडकमा चेकिङ गर्ने क्रममा दुर्घटना भएको दाबीसहित प्रदर्शनकारीहरू ट्राफिक प्रहरीसँग जाइलागेका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नेहरूको खोजी भइरहेको बताए। भिडिओ तथा फोटोहरू हेरेर ट्राफिक प्रहरीलाई दुर्व्यवहार गर्नेको पहिचान गरी कारबाहीको दायरामा ल्याउने तयारीमा प्रहरी जुटेको छ।
‘ट्राफिक प्रहरीहरूमाथि दुर्व्यवहार भएका छन्, कतिपयमाथि चोटपटक समेत लागेको छ। हामी खोजीखोजी कारबाही गर्छौं,’ उनले सेतोपाटीसँग भने।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रानीपोखरीका एसएसपी जीवनकुमार श्रेष्ठले दुर्घटनामा परेको स्कुटर र ट्रक ट्राफिक चेकिङमा नपरेको दाबी गरेका छन्।
उक्त सडकखण्डमा ट्राफिक प्रहरीले स्पीड गन राखेर तीव्र गतिको मापन गरेको भए पनि दुर्घटनामा परेका सवारीसाधनहरू भने चेकिङमा नपरेको उनले बताए।
‘ती गाडी ट्राफिक चेकिङमा रोकिएका होइनन्। स्कुटर र ट्रक दुवै मुभ भइरहेकै बेलामा दुर्घटनामा परेको हो,’ उनले भने, ‘ठाउँ-ठाउँमा चेकिङ गर्ने हाम्रो ड्युटी हुन्छ। ड्युटी नराख्दा व्यवस्थापनमै बाधा पर्छ। थप दुर्घटनाहरू हुनसक्छन्। आज तीव्र गतिको चेकिङमात्रै थियो। जसले तीव्र गतिको सवारी चलाउँछन् उसैलाई मात्रै रोक्ने हो।’
यो घटनाबारे विस्तृतमा अनुसन्धान गरिने उनले बताए।
*सच्याइएको-सम्पादक