सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै गालीगलौच गरेको भन्दै दाङको राजपुर गाउँपालिकाले प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ।
माध्यमिक विद्यालय सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई गाउँपालिकाले आइतबार २४ घन्टे स्पष्टीकरण सोधेको हो।
विद्यालयको प्राथमिक तह राहत शिक्षकका रूपमा प्रअ खत्री कार्यरत छन्।
उनलाई गाउँपालिका अध्यक्ष शरद बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेले संयुक्त रूपमा स्पष्टीकरण सोधेका हुन्।
गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख केशव लम्सालमाथि फेसबुकबाट अपशब्द प्रयोग गर्दै गालीगलौच गरेको प्रअमाथि आरोप छ।
साथै पालिकाबाट विद्यालयको निमित्त प्रअको जिम्मेवारी तोके पनि कामकाजमा अवरोध सिर्जना गरेको भन्दै गाउँपालिकाले प्रअमाथि स्पष्टीकरण सोधेको हो। चित्तबुझ्दो जबाफ नआए शिक्षा नियमावलीअनुसार कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ।
यो पनि: शिक्षक र गाउँपालिकाकै कर्मचारीलाई अव्यवस्थित बसोबासीको सिफारिस