सोलुखुम्बुको थामेमा बाढी आएको दिन शुक्रबारदेखि बेपत्ता भएका ङिमा नुरू शेर्पा आइतबार सम्पर्कमा आएका छन्।
५५ वर्षीय शेर्पा सम्पर्कमा आएसँगै हिमताल फुटेर आएको भीषण बाढीबाट कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ। बाढीको दिनदेखि बेपत्ता रहेका उनलाई प्रहरीले खोजिरहेको थियो।
आइतबार खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो फेसबुक पेजमार्फत बेपत्ता शेर्पा सम्पर्कमा आएको जानकारी दिएको छ।
हिमताल विस्फोट भएर आएको बाढीले खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ मा पर्ने थामे गाउँका विद्यालयसहित १४ घर पूर्ण रूपमा बगाएको छ भने गाउँलाई बगरमा परिणत गरिदिएको छ।
दिउँसो गाउँ पसेको बाढीले मानवीय क्षति भने गर्न नपाउँदा ठूलो क्षतिबाट जोगिएको गाउँपालिकाले बताएको छ।
गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ३ टोकटोकका तीन घर पहिरोमा परी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अरू चार घर पहिरोको उच्च जोखिममा छन्। टोकटोक हुँदै नाम्चेतर्फ जाने पर्यटकीय पदमार्ग समेत पहिरोले क्षतिग्रस्त छ। हाल त्यस क्षेत्रको टोल विकास संस्था, स्थानीयबासी, नेपाली सेना र प्रहरीको सक्रियतामा वैकल्पिक बाटो निर्माण गरी आवतजावतको व्यवस्था गरिएको पालिकाले जनाएको छ।
यो पनि पढ्नुस्ः