बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।
आइतबार राति बुङ्गल नगरपालिका -१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्।
गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घरमा क्षति पुगेको छ।
पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको त्यहाँ स्थानीय भरत महरले जानकारी दिएका छन्।
बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामीको उद्धार भएको र उनीहररू सकुशल रहेका स्थानीयले जनाएका छन्। काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी भने भेटिएका छैनन्। उनीहरुको खोजी भइरहेको स्थानीयले बताए ।
उद्धारका लागि अहिले बुंगलमै रहेको झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ। स्थानीयहरूले रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको छ।
जिल्लामा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गर्न सकिएको छैन।