काठमाडौं महानगरपालिका-८ मा १८ औं शताब्दी पुरानो फल्चा पुनर्निर्माण भएको छ।
फल्चामा राखिएको शिलालेखमा पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको उक्त फल्चा १८ औं शताब्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गरेको उल्लेख छ।
दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको वडाध्यक्ष ८ का अध्यक्ष आशामान संगतले बताए। आज वडाध्यक्ष संगतले उक्त फल्चा उद्घाटन गरेका हुन्।
उनका अनुसार जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनर्निर्माण गराइएको हो।
'पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो। हामीले यसो हुन दिएनौं,' उनले भने, 'कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको थियो।'
फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने उनको भनाइ छ।