काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले मंगलबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा धरानदेखि काठमाडौं आउँदै गरेको बा. प्र. ०१-००६ ख ५८८४ नम्बरको बसमा चेकजाँच गरेको थियो।
त्यसमा झापा घर भई सुनसरीको ईटहरी उपमहानगर-५ पचुर्की बस्ने ३५ वर्षीय सुरेश थापालाई शंका लागेर चेक गर्दा उनीबाट खैरो हेरोइन ९७.७ ग्राम बरामद भएको थियो।
उनीमाथि सोधपुछ गरेपछि अर्का एक जनाको पनि संलग्नता रहेको भन्दै बालाजुको माछापोखरीबाट अर्का एक जनालाई पनि पक्राउ गरेको हो। माछापोखरीबाट नुवाकोटका ३६ वर्षीय रामकुमार थपलियालाई पक्राउ गरेको हो।
उनीबाट प्रहरीले ७५ हजार ५०० रुपैयाँ र थप चार ग्राम खैरो हेरोइन बरामद गरेको थियो।
दुबै जनामाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।