काठमाडौं लगायत देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकासहित बारा, पर्सा, कैलाली, कञ्चनपुर, नुवाकोट, पाल्पा, पर्वत, अछाम र कञ्चनपुरमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बारा, पर्सा, स्याङ्जा, पर्वत र कैलालीमा भने चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको छ।
महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा बाराको सिमरा मापन केन्द्रमा पछिल्लो चौबिस घन्टामा १३९ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो घन्टामा १२९.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै कोल्भीमा १०८ मिलिमिटर वर्षा मापन भएको छ।
पर्साको रंगपुरमा २४ घन्टामा १६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो ६ घन्टामा १४५.२ मिलिमिटर वर्षा मापन भएको छ।
चौबिस घन्टामा कैलालीको धनगढी विमानस्थल केन्द्रमा १०२.६ मिलिमिटर वर्षा भएको छ।
स्याङ्जाको पञ्चमुलमा १३०.२ मिलिमिटर, पर्वतको पञ्चासेमा ११६.२ मिलिमिटर र कार्कीनेटामा ११०.८ मिलिमिटर, कञ्चनपुरको सुन्दरपुरमा ९८.२ मिलिमिटर वर्षा मापन भएको छ।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
बुधबार दिउँसो कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा र राति कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।