पूर्वदेखि पश्चिमसम्मका विभिन्न भूभागहरुमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, सिन्धुपाल्चोक, सिन्धुली, सर्लाही, बारा, पर्सा, मकवानपुर, गोरखा, धादिङ, नवलपुर, ओखलढुंगा, नवलपरासी पूर्व, पर्वत, कैलाली, अछाम, दैलेख आसपास पानी परिरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
‘रातिको समयमा चाहीँ ठूलो परेको थियो, अहिले ठूलो पानी परेको चाहीँ छैन,’ उनले भने।
मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालनजिकै छ। त्यसले पनि पानी पार्न मद्दत गरेको छ।
‘पश्चिमतिर अरेबियन सागरबाट आउने उच्च जलवाष्पयुक्त हावा, पूर्वतिर पूर्वीय वायु र बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त हावाले पानी पारेको हो,’ मौसमविद् लामिछानेले भने।
उनकाअनुसार देशभरि नै पानी परेको भने छैन। कोशी प्रदेशका भूभागहरुमा कम पानी परेको छ। गण्डकी र कर्णालीको पनि पूर्वी र माथिल्लो भूभागहरुमा खासै पानी परेको छैन।
काठमाडौंमा दिउँसोदेखि मौसम सुधार हुने र बेलुकादेखि देशभरि नै क्रमिक सुधार हुने लामिछानेले जानकारी दिए।
दिउँसोपछाडि भने पानी पर्न कम हुँदै जाने उनले बताए।
‘मधेस र बागमतीमा सिस्टमहरू स्थिर रहिरहने पनि हुन्छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका क्षेत्रहरूमा पनि केही समय चाहीँ पानी पर्न सक्ने देखिएको छ,’ मौसमविद लामिछानेले भने।