नेपाल संगीत उद्योग संघमा मानव बेचबिखन अनुसन्धान ब्युरोले छापा मारेको छ।
अनामनगरस्थित रहेको संघको कार्यालयमा प्रहरीले आइतबार छापा मारेको ब्युरो प्रवक्ता एवं एसपी गौतम मिश्रले जानकारी दिए।
आममानिसलाई नक्कली कलाकार, गायकको कागजात बनाएर अस्ट्रेलियामा पठाउने गरेको भन्दै समाचारहरू आएका थिए। उक्त समाचारहरू बाहिरिएपछि ब्युरोको टोलीले छापा मारेको एसपी मिश्रले बताए।
त्यहाँबाट प्रहरीले कागजात बरामद गरेको छ।
‘विदेश पठाउन कागजात मिलाइदिने गरेको भन्ने समाचारहरू आएपछि वास्तविकता पत्ता लगाउन हाम्रो टोली पुगेको थियो,’ उनले भने, ‘कागजातहरू बरामद गरेका छौं। अनुसन्धान भइरहेको छ।’
घटनामा प्रहरीले कसैलाई नियन्त्रणमा भने लिएको छैन।