काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भदौरे झरी परेको छ।
लुम्बिनी, गण्डकी, बागमती प्रदेश आसपास मनसुनजनित ‘सर्कुलेसन’ बन्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा झरी परिरहेको हो।
यसैका कारण सुदूरपश्चिमका तराई भू-भाग पनि डुबानमा पर्न थालेका छन्।
सुदूरपश्चिमको कैलाली, मधेस प्रदेशको पर्सामा धेरै भारी वर्षा भएको छ।
पछिल्लो २४ घन्टामा कैलालीको गर्भ दरबार केन्द्रमा १७४ मिलिमिटर वर्षा भएको छ। पर्साको रंगपुरमा १८० मिलिमिटर वर्षा भएको छ। कञ्चनपुर, कैलालीकै धनगढी, डडेलधुरा, लमजुङ लगायतका जिल्लामा भारी वर्षा मापन भएको छ।
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार दिउँसो पानी पर्न मत्थर भए पनि बिहीबारबाट मात्रै मौसम खुल्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
उनकाअनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदरको स्थानभन्दा केही उत्तर (नेपालतर्फ) सरेको छ। नेपालतर्फ सरे पनि त्यो रेखा नेपालमै भने छैन। तथापि मनसुन सक्रिय देखिएको छ।
लुम्बिनी, गण्डकी र बागमती प्रदेश जोडिएको स्थान आसपास मनसुनजनित सर्कुलेसन बनेको र यसैका कारण निरन्तर वर्षा भएको उनले बताइन्।
‘त्यही सर्कुलेसनका कारण अहिले पानी पर्ने र रोकिने भइरहेको छ। यो क्रम बिहीबार साँझसम्म रहन्छ। बिहीबार साँझबाट भने क्रमिक सुधार हुनेछ,’ उनले भनिन्, ‘शुक्रबार, शनिबार र आइतबार घाम देख्न पाइनेछ तर पूरै चाहिँ खुल्दैन, हल्कादेखि मध्यम र कतै भारी वर्षा हुन्छ। लगातार झरी पर्ने सम्भावना देखिँदैन।’
कैलालीमा मंगलबार रातिदेखि लगातार ६ घन्टा पानी पर्दा केही ठाउँमा डुबान भएको छ।
कैलालीको गौरीगंगा, भजनी, धनगढी लगायतका ठाउँमा डुवान भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पानीका कारण तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागमा पानी पसेको छ।

उनका अनुसार कैलालीका सबै नदीमा पानीको बहाव बुधबार बिहान सतर्कता लेबल नजिक पुगेको थियो।
खुटिया नदीमा सतर्कता तह ४ मिटर हुँदा बिहान ६ बजेसम्मको अवस्थामा २.८६ पुगिसकेको थियो। कर्णाली चिसापानीमा पानीको सतह ८.०५ पुगेको थियो भने मोहनामा २.६ मिटर पुगेको थियो । कर्णालीमा सतर्कता तह १० र मोहनामा ३ रहेको थियो।
सबैभन्दा धेरै पानीको बहाव कन्द्रा नदीमा देखिएको छ । कन्द्रको सतर्कता तह ४.५ हुँदा पानीको तह ४.४३ मिटर पुगिसकेको छ। नदीमा पानीको सतह बढेका कारण जिल्लाका दक्षिण क्षेत्र डुबानको उच्च जोखिममा छन्।
‘अहिले भने पानी पर्न रोकिएको छ तर नदीमा पानीको बढिको छ, कतिपय ठाउँमा डुवान भएको छ,’ उनले भने।
डुवान भएको ठाउँमा उद्धारको काम भइरहेको छ।
यस वर्ष कति पर्यो पानी?
यसपालि औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले यसअघि नै पूर्वानुमान गरिसकेको छ।
मंगलबारसम्म देशभर १ हजार १६२.० मिलिमिटर वर्षा भएको छ। २० वटा वर्षा मापन केन्द्रमा मनसुन अवधि (जेठ १९ देखि भदौ २ गतेसम्म) परेको पानीको सञ्चित तथ्यांक हो यो।
अहिलेसम्म सरदर वर्षाको तुलनामा ७८.५ प्रतिशत वर्षा भएको विभागले जानकारी दिएको छ।
नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४७२ मिलिमिटर वर्षा हुने विभागको तथ्यांक छ। गत वर्ष सरदरभन्दा कम अर्थात् १ हजार ३०३ मिलिमिटर पानी परेको थियो। गत वर्ष जेठ १८ देखि असोज १३ गतेको अवधिमा परेको पानीको तथ्यांक हो यो।
यस वर्ष अहिलेसम्म विराटनगर, धरानबजार, धनगढी, डडेलधुरामा औसतभन्दा बढी वर्षा भएको छ।
धनकुटामा औसतभन्दा कम र ताप्लेजुङमा औसतभन्दा बढी वर्षा भएको छ।
दिपायल, घोराही, भैरहवामा औसतभन्दा बढी वर्षा भइरहेको छ। सुर्खेत, जिरीमा औसतभन्दा कम वर्षा भएको छ।
यस्तै ओखलढुंगा, जोमसोम, काठमाडौंमा औसतभन्दा बढी वर्षा भएको छ। जनकपुरमा औसत बराबर र लुम्लेमा औसतभन्दा कम वर्षा मापन भएको छ।
नेपालगञ्ज, जुम्ला, सिमरामा कम र पोखरामा औसतभन्दा बढी वर्षा मापन भएको छ।