सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाट आरोपमा तीन जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिलकुमार तामाङ, नमोबुद्ध नगरपालिका-५ घर भई ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र बेथानचोक गाउँपालिका-६ घर भई गौशाला बस्ने ३१ वर्षीय रोहित भन्ने सुरेश तामाङ छन्।
उनीहरूले साउन २१ गते बिहान ११ बजे जडबुटीस्थित सिद्धार्थ पेट्रोलपम्प देखि कमल विनायक भक्तपुर जानेक्रममा लोकन्थली बसस्टपबाट लुटपाट गरेको आरोप छ।
मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ५० वर्षीय कमला गौतमले घाँटीमा लगाएको सुनको एक तोलाको सिक्री लुटपाट भएको थियो।
अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको भन्ने खबरपछि खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो।
अनिलकुमारविरूद्ध यसअघि २०७१ जेठ १ गते गौशालाबाट अभद्र व्यवहारको मुद्दा चलेको थियो। गणेश लामा र सुरेश तामाङविरूद्ध भने अभद्र व्यवहारको कसुरमा चार-चार पटक मुद्दा चलिसकेको छ।