जिल्ला सुरक्षा समिति चितवनले भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिलाको मृत्यु भएको विषयमा छानबिन गर्न सर्वपक्षीय छानविन समिति गठन गरेको छ।
सात दिनभित्रमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भरतपुर अस्पतालका कन्सल्ट्यान्ट डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिका सदस्यहरूमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियोलोजिष्ट डा.प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धानका अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिञ्जाली, पीडित पक्षबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन्। शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको छ।
नवलपुरको गैंडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्ले मंगलबार पाठेघरको उपचारका लागि भरतपुर अस्पताल पुगेकी थिइन्। उनलाई दिउँसो एनेस्थेसिया दिइएको थियो।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलकाअनुसार पाठेघरमा पोलिप देखिएपछि बायोप्सी गर्न उनलाई भर्ना गरिएको थियो। राति बायोप्सीका लागि दुरबिनमार्फत काम सुरू गर्न लाग्दा उनको मृत्यु भएको थियो।
काफ्लेको मृत्युपछि उनका आफन्त तथा स्थानीय बासिन्दाले स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त घटनाको छानविनका लागि अस्पतालले पनि आन्तरिक छानविन समिति बनाएको बताए।
साथै सत्यतथ्य छानविन गर्न गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि अनुरोध गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको उनले बताए।
सुरक्षा समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी यादवसहित नेपाली सेनाका प्रमुख सेनानी दिनेश लामा, प्रहरी उपरीक्षक भावेश रिमाल, सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेल, उप–अनुसन्धान निर्देशक मनोज ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा, प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेण्डेण्ट डा.कृष्णप्रसाद पौडेललगायत उपस्थित थिए।