सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरूको प्रारम्भिक अनुसन्धानले देखाएको बताए।
हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको उनले बताए।
तल्लो तालको मुख कमजोर भएको हुनाले फुटेर सो घटना हुन गएको पुष्टि भएको पाइएको उनको भनाइ थियो।
प्रमुख कार्यकारी प्रमुख पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताए।
उनले भने, ‘यो तापक्रम वृद्धिकै कारण यस्तो भएको हो। यसमा दुईमत छैन। ठयाक्कै कति भयो, विगतमा कति थियो? यो बाँकी रहेको समयमा पनि हामीेल नापेर हेर्छौं। अन्य ठाउँमा पनि नापेको हिसाबबाट विस्तृत अध्ययनबाट त्यो थाहा पाउँछौं। म आफै पनि गएको थिएँ। पातलो ज्याकेट लगाएर जाँदा पनि त्यत्रो हाइटमा एकदम गर्मी भइराखेको थियो। थामे बजारमा म आफैले पनि गरेको अन्तरक्रियामा उहाँहरूले के भन्नुभयो भने ३, ४ दिन अघि देखि नै अलिकति अनिष्टको संकेट कालो, निलो खालको बादलहरू मडारिइरहेको कुराहरू गर्नुभयो।’
उनले अगाडि भने, ‘त्यो हुनासाथ बौद्ध धर्म परम्पराअनुसार उहाँहरूले गएर पूजाआजा गर्ने, एउटा टोलीलाई त्यो तालसम्म गएर ध्यान गर्ने कुराहरू गर्नुभएको थियो। त्यो दिन बिहान पानी परेको थिएन। तर त्यो दिन झन कालो बादलहरू थियो। त्यसअघि त्यस्तो खालको कालो बादल उहाँहरूले नदेखेको कुरा हामीलाई राख्नु भयो। हपहप गर्मी र अनवरत रूपमा पानी परिरहेको थियो। सामान्यतया अहिले पानी पर्दाको तापक्रम र छेउछाउको तापक्रम बराबर नै हुन्छ। त्यो पानी र तापक्रम दुवैको कारणले गर्दा त्यहाँ भएको जुन मोरेन हुन्छ। त्यो पहिलो लेकमा फुट्न थाल्यो। त्यो फुटेको कुरा स्पष्ट देखिन्छ। हामीहरू दुई राउण्ड हेलिकप्टरबाट फुटेजहरू लिएका थियौं। त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो। जुलाई र अगष्टमा तापक्रम बढी भएको हामीले पायौं। असार/साउनमा तापक्रम बढी हुन लागेपछि यो फुट्न गएको हो भन्ने पुष्ट्याँई त्यसले पनि गर्यो। हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत आइससहित तल्लो तालमा गएर बजारियो र तल्लो तालको मुख कमजोर भएर यो हुन गएको हो। यसमा तापक्रम वृद्धि नै यसको मुख्य कारण हो।’
प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयहरूले बताएका थिए। थामेमा गत साउन ३२ गते शुक्रबार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो। —न्युज एजेन्सी नेपाल