भैरहवा-लुम्बिनी सडक क्षेत्रमा तस्करी भइरहेको २१० बोरा चिनी नियन्त्रणमा लिएको छ। भदौ १३ गते पनि सोही क्षेत्रबाट २१० केजी चिनी नियन्त्रणमा लिइएको थियो।
विशेष सूचनाका आधारमा खटिएको भन्सार गस्तीले नियन्त्रणमा लिएको हो।
भन्सार कार्यालय भैरहवाका प्रमुख नारद गौतमका अनुसार, ट्रक नम्बर लु २ ख ५३०५ मा अवैध रूपमा भैरहवातर्फ ल्याइँदै गरेको चिनी र ट्रक नियन्त्रणमा लिइएको हो।
बिहान १ बजे यो चिनी नियन्त्रणमा ल्याइएको थियो।
नियन्त्रण गरिएको चिनीको मूल्य प्रतिकिलो ७० रूपैयाँको दरले ७ लाख ८७ हजार ५० रहेको छ।
त्यस्तै १६ लाखको ट्रकसहित करिब २८ लाखको सामान नियन्त्रणमा लिइएको हो।
यसअघि पनि भैरहवा-लुम्बिनी सडक क्षेत्रको विभिन्न स्थानमा तस्करीका गतिविधिहरू भइरहँदा भन्सार गस्तीले नियन्त्रणमा ल्याइएको थियो।
भन्सार कार्यालयका प्रमुख गौतमले यस क्षेत्रबाट निरन्तर चोरी पैठारी हुने गरेको बताए।
चोरी पैठारी र तस्करीका गतिविधिहरूलाई निरुत्साहित गर्न भन्सार कार्यालयले निगरानी पार्ने प्रतिबद्धता जनाएको छ।
यसअघि पनि सोही क्षेत्रबाट अवैध चिनी ल्याउने प्रयास गरिएको भन्सार कार्यालयले जनाएको छ।