सशस्त्र प्रहरी बल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को एक पद रिक्त छ।
तर पद रिक्त भएको महिनादिन बितिसक्दा पनि पूर्ति हुन सकेको छैन।
सशस्त्र प्रहरी बलका एआइजी चन्द्रप्रकाश गौतम ३० वर्षे सेवा अवधिका कारणले वैशाख २ गते अवकाशमा गएका थिए।
उनी अवकाशमा गएपछि बढुवा समितिले सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार बढुवाका लागि योग्य उम्मेदवारले प्रतिस्पर्धाका लागि आवेदन खुलाएको थियो।
बढुवा समितिले वैशाख १४ गते एक हप्ताका लागि सूचना प्रकाशन गरेको थियो।
सशस्त्र प्रहरी नियमावली अनुसार यसमा गृहमन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) सदस्य सचिव रहने व्यवस्था छ।
तर पछिल्लो समय बढुवा समितिको बैठक बस्न सकेको छैन।
गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय यस विषयमा नै प्रवेश गरिसकेको छैन।
‘एआइजीको बढुवा गर्ने विषयमा प्रवेश नै गरिसकेको जस्तो लाग्दैन। नेतृत्व तहमा कुरा भएपछि मात्रै बढुवाको प्रक्रिया अघि बढ्ला,’ स्रोतले भन्यो।
समितिले प्रकाशन गरेको सूचनामा १० जनाले आवेदन दिएका छन्।
डिआइजीहरू कमल गिरी, गणेश ठाडामगर, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, कुमार न्यौपाने, कालीदास धौबजी, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले बढुवाका लागि आवेदन दिएका हुन्।
गिरी, ठाडामगर, सुवेदी र नेम्वाङ २०५६ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा सेवा प्रवेश गरी सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका डिआइजीहरू हुन्।
उनीहरू २०७७ पुस ३ गते सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजीमा बढुवा भएका थिए। डिआइजी वरीयतामा गिरी पहिलो नम्बर, ठाडामगर दोस्रो र नेम्वाङ तेस्रोमा छन्।
उनीहरूसँगै अन्य डिआइजीहरू बढुवाका प्रतिस्पर्धामा छन्।
बढुवाका लागि आवेदन दिने समय वैशाख २१ गते नै सकिएको थियो। उक्त समय सकिएको २० दिन बितिसक्दा पनि डिआइजीबाट एआइजीको बढुवा भएका छैनन्।
‘अहिले अस्वभाविक रूपमै एआइजी बढुवा रोकिएको छ। आवेदन दिने समय २० दिन भइसकेको छ। तर पनि बढुवा गर्न सकेको छैन,’ स्रोतले भन्यो, ‘जति धेरै समय लम्बिन्छ त्यति नै चलखेलका लागि बाटो रहन्छ। अहिले पनि चलखेलका हल्ला चलिरहेका छन्।’
सशस्त्र प्रहरी बलमा कार्यक्षमता मूल्यांकन गरी बढुवा गर्नुपर्ने नियमावलीमा उल्लेख छ।
कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यताबापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतिपूर्ण-विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ र बढुवा समितिले ५ अंक दिनसक्ने प्रावधान छ।
‘सशस्त्रमा विशेषगरी कार्यसम्पादन र ज्येष्ठतालाई प्रमुख आधार मानेर बढुवा गरिन्छ। तर यसपालि ढिला गर्नाले शंका हुन थालेको हो,’ स्रोतले भन्यो।
हाल सशस्त्र प्रहरी बलमा एआइजीहरू नारायणदत्त पौडेल र वंशी दाहाल छन्। आइजिपी राजु अर्याल २०८३ वैशाखमा चार वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जानेछन्।
उनी अवकाशमा गएसँगै पौडेल र दाहालमध्ये एक जना आइजिपी बन्ने सम्भावना छ।
त्यसपछिको नेतृत्वमा भने अहिले एआइजी बन्ने मध्येबाट हुनेछन्।
यसअघि नेपाल प्रहरीकै एआइजीमा पनि बढुवा गर्न महिनादिन ढिला गरिएको थियो। प्रहरीमा चैत ४ गतेदेखि रिक्त रहेको ६ वटा पदका लागि वैशाख ४ गतेमात्रै सूची निकालेको थियो।
यसबीच नेपाल प्रहरीकै एआइजी लालमणि आचार्य आजदेखि अवकाशमा गएका छन्। उक्त पदमा रिक्त हुनुअघि नै डिआइजी सिद्धिबिक्रम शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिसकेको छ। तर सशस्त्र प्रहरी बलमा भने एआइजी पद रिक्त रहेको महिनादिन नै बित्दा पनि बढुवा गर्न नसकेको हो।