फ्रान्सेली फुटबल स्टार किलियान एम्बाप्पे चीनमा विवादमा परेका छन्।
चीनका संस्थापक नेता माओ त्सेतुङको अपमान गरेको अर्थ लाग्ने अभिव्यक्ति दिएको आरोपपछि चिनियाँ सरकारी टेलिभिजनले उनी सहभागी खेल प्रसारण गर्न रोकेको छ भने सामाजिक सञ्जालले उनका खाता प्रतिबन्धित गरेका छन्।
उनलाई ब्रान्ड एम्बासडर बनाएका कम्पनीहरूले पनि उनीसँगको सम्बन्ध तोड्न थालेका छन्।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले एम्बाप्पे देखिने विज्ञापन हटाएको, उनी सहभागी फुटबल खेल प्रसारण गर्न बन्द गरेको र आफ्नो आधिकारिक वेइबो खाताबाट उनी सम्बन्धी सबै पोस्ट मेटाएको बताएको छ।
चिनियाँ सामाजिक सञ्जाल सियाओहोङ्सुले पनि एम्बाप्पेको खाता प्रतिबन्धित गरेको भनेर ब्लुमबर्गले जनाएको छ।
वेइबो र सियाओहोङ्सुमा उनका करिब १० लाख फलोअर छन्। दुवै खातामा नियम उल्लंघन गरेको भन्दै प्रतिबन्ध सम्बन्धी सूचना राखिएको छ।
इन्टरनेटमा चर्चित एउटा ‘मिम’ बारे कुरा गर्ने क्रममा एम्बाप्पेले दिएको अभिव्यक्तिले विवाद निम्त्याएको हो।
उनलाई आफूलाई सबैभन्दा धेरै हँसाएको इन्टरनेट मिम कुन हो भनेर सोधिएको थियो।
जबाफमा उनले एउटा भिडिओको चर्चा गरेका थिए, जसमा आफूले ‘चिनियाँ तानाशाह’ ठानेको व्यक्तिको अनुहारमा एम्बाप्पेको अनुहार जोडिएको थियो। उनले अनलाइन गेम खेल्दा साथीहरूसँग उक्त मिम प्रयोग गर्ने गरेको बताए पनि ती व्यक्ति को हुन् भनेर नाम लिएनन्।
ताइवानी सञ्चार माध्यम इटुडेको रिपोर्ट अनुसार उक्त तस्बिरमा माओको अनुहारमा एम्बाप्पेको अनुहार जोडिएको थियो। माओ आधुनिक चीनका संस्थापक नेताका रूपमा चिनिन्छन्।
चिनियाँ सामाजिक सञ्जालमा राष्ट्रवादी प्रयोगकर्ताहरूले एम्बाप्पेको आलोचना गर्दै चीनको अपमान गरेको आरोप लगाएका छन्।
केहीले उनलाई बहिष्कार गर्न समेत आह्वान गरेका छन्। फुटबल सम्बन्धी चर्चित चिनियाँ सञ्चार माध्यम डोङछिउदीले उनको अभिव्यक्ति ‘चीन र चिनियाँ जनतालाई चोट पुर्याउने’ खालको भएको भन्दै त्यसको अनुवादसमेत नगर्ने बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि चिनियाँ जनताको भावनामा चोट पुर्याउने कुनै पनि अभिव्यक्ति वा गतिविधिले समाजबाट व्यापक विरोधको सामना गर्नुपर्ने बताएका छन्।
एम्बाप्पेलाई ब्रान्ड एम्बासडर बनाएका इस्ट्रोक बेभरेज ग्रुप र चाइना मेङनिउ डेरीले उनीसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छन्।
विवादपछि इस्ट्रोकको सेयर मूल्य सांघाई बजारमा ४.१ प्रतिशतसम्म घटेको थियो भने मेङनिउको सेयर हङकङमा करिब तीन प्रतिशतले ओरालो लागेको थियो।
स्विस जुत्ता उत्पादक कम्पनी अन होल्डिङले पनि आफ्नो चिनियाँ सामाजिक सञ्जाल खाताबाट एम्बाप्पे सम्बन्धी पोस्ट हटाएको छ।
कम्पनीले उनीसँग हालै गरेको १० वर्षे साझेदारीबारे भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
चीनमा विवादित अभिव्यक्तिका कारण विदेशी खेलाडी र कम्पनीले व्यावसायिक क्षति बेहोरेको यो पहिलो घटना होइन।
सन् २०१९ मा हङकङका प्रदर्शनकारीको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकी बास्केटबल संघ एनबिएले चीनमा आफ्नो छवि पुनर्निर्माण गर्न वर्षौं पर्खनुपरेको थियो।
सिन्जियाङ सम्बन्धी टिप्पणीका कारण नाइकी र स्विडिस खुद्रा विक्रेता एचएन्डएमले पनि चिनियाँ उपभोक्ताको बहिष्कार सामना गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)