बंगालको खाडीमा विकसित चक्रवात भोलिसम्म भारतीय भूमिमा प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै अहिले समुद्री सतहमाथि अति शक्तिशाली चक्रवातका रूपमा विकसित भइरहेको प्रणाली भोलिसम्ममा जमिनी सतहमा प्रवेश गर्ने जनाएको हो।
यो चक्रवातलाई अर्नब नाम दिइएको छ।
यो विशाखापट्टनम आसपास जमिनी सतहमा प्रवेश गर्ने महाशाखाले जनाएको छ।
त्यसपछि उत्तरपश्चिम नेपालतर्फ अघि बढ्ने महाशाखाकी मौसमविद विभूति पोखरेलले भिडिओ सन्देशमा भनेकी छन्।
उनका अनुसार ढिला भए बिहीबार बिहानसम्ममा उक्त चक्रवात भारतीय जमीनमा प्रवेश गर्नेछ।
समुद्री सतहमा रहँदा अत्यन्त शक्तिशाली चक्रवातका रूपमा रहेको अर्नब जमिनी सतहमा प्रवेश गरेपछि कमजोर बन्ने पनि उनले बताएकी छन्।
नेपालनजिक आउँदा अझै कमजोर बन्ने पनि उनले बताइन्।
'नेपाल नजिक आइपुग्दा यो धेरै कमजोर भइसक्ने देखिन्छ। कमजोर भएर न्यून चापीय क्षेत्रका रूपमा रहने र नेपालमा आइपुग्दा अझै कमजोर भएर चक्रवातीय प्रणाली वा न्यूनचापीय क्षेत्रका रूपमा मात्रै रहने सम्भावना छ,' पोखरेलले भिडिओ सन्देशमा भनेकी छन्।
यद्यपि यसको पछिल्लो अनुमानित मार्ग नेपालतर्फ देखिएकाले चक्रवात कमजोर भए पनि त्यसबाट पर्न सक्ने असरलाई बेवास्ता गर्न नमिल्ने उनले बताइन्।
यसको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात गराउन सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन्।
चक्रवातको पछिल्लो अवस्था हेर्दा यसको तीव्रतामा भने केही कमी आएको उनले बताइन्। यद्यपि त्यसले नेपालमा पार्न सक्ने मौसमी प्रभाव पूर्ण रूपमा टरिसकेको छैन।
यही अवस्थालाई ध्यानमा राखेर मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबारका लागि चेतावनी जारी गरेको छ। महाशाखाले यसअघि विशेष मौसम बुलेटिनसमेत सार्वजनिक गरेको थियो।
चक्रवातको प्रभावले नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
केही स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना अझै रहेको मौसमविद् पोखरेलले बताइन्। विशेषगरी उच्च हिमाली भूभागमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम कायमै रहेको उनले उल्लेख गरिन्।
'चक्रवातको तीव्रता केही घटे पनि उच्च हिमाली क्षेत्रमा सतर्कता अपनाउनु एकदमै जरुरी छ। त्यहाँ भारी हिमपात र हिमपहिरोको जोखिम अझै छ,' उनले भनिन्।
मौसमविद्हरूले हिमाली क्षेत्रमा पदयात्रामा जाने योजना बनाएकाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
पदयात्रामा रहेका व्यक्तिहरूलाई मौसमको अवस्था बुझेर सुरक्षित रहन र जोखिमपूर्ण क्षेत्रमा नबस्न सुझाव दिइएको छ। उच्च हिमाली क्षेत्रमा रहेका व्यक्तिहरूले पनि मौसमको पूर्वानुमान र स्थानीय प्रशासनको निर्देशनअनुसार निर्णय लिनुपर्ने पोखरेलले बताइन्।
चक्रवातको प्रभावले हुने वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ।
अहिले धान काट्ने समय भएकाले मध्यम खालको वर्षाले पनि धानबाली भित्र्याउन समस्या पार्न सक्छ। त्यसैले सम्भव भएसम्म बिहीबारअघि नै धान काट्ने काम सक्न मौसमविद्ले आग्रह गरेकी छन्।
पोखरेलका अनुसार तत्कालका लागि भने मंगलबार र बुधबार नेपालको मौसम सामान्यतया सफा रहनेछ।
तर त्यसपछिका दिनमा चक्रवातको प्रभाव देखिन सक्ने भएकाले वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रका बासिन्दाले आवश्यक तयारी गर्नुपर्ने हुन्छ।
अर्नब चक्रवातको मार्ग र तीव्रतामा हुने परिवर्तनले नेपालमा पर्ने प्रभावको मात्रा पनि फरक पार्न सक्ने भएकाले पछिल्ला मौसम बुलेटिनमा ध्यान दिन मौसमविद्ले आग्रह गरेका छन्।