नेपाल प्रहरीका तीनजना सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन्।
आइतबार प्रहरी प्रधान कार्यालयले वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ।
तीन जना प्रहरी सहायक हवलदार, एक जना प्राविधिक प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान, तीन जना प्राविधिक प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सम्पर्कविहीन भएका सहायक हवलदारहरूमा विवेक साउद, देवकी थापा र प्रकाश थारू छन्। उनीहरू जेठको विभिन्न मितिदेखि गैरहाजिर छन्।
उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।