घरमै सुतिरहेकी महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने चार जना पक्राउ परेका छन्।
मंगलबार राति ९ बजेतिर कैलालीको भजनी नगरपालिका–५, मिलनपुरकी ५६ वर्षीया हसनादेवी डगौंरा आफ्नै घरभित्र सुतिरहेको अवस्थामा छिमेकी चार जनाले बोक्सीको आरोप लगाउँदै उनीमाथि कुटपिट गरेका थिए।
हसनादेवीसहित उनका नाति संजित चौधरीमाथिसमेत लछारपछार गर्नुका साथै चार जनाले हात तथा मुक्काले कुटपिट गरेको भन्दै उनले बुधबार प्रहरीमा जाहेरी दिएकी थिइन्।
सोही जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
बोक्सी आरोपमा हसनादेवीसहित उनका नातिमाथि कुटपिट गरेको भन्दै किटानी जाहेरी परेपछि प्रहरीले बुधबार स्थानीय कृष्ण डगौंरा, राजु डगौंरा, राजन डगौंरा र उर्मिला डगौंरालाई पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनामाथि बुधबार जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताए।