पानी तान्ने मोटरको तार चोरी गरेको आरोपमा सुरू भएको विवादले विराटनगरका एक व्यवसायीको ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मोरङ विराटनगर–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक भारतीय नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा विराटनगर–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम, भारतका १३ वर्षीय एक नाबालक र नेपालका १६ वर्षीय अर्का नाबालकलाई पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरीले कानुनी व्यवस्थाअनुसार दुवै नाबालकको परिचय सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्कसमा पानी तान्ने मोटरको तार चोरी भएको विषयलाई लिएर आलम र गुप्ताबीच विवाद भएको थियो।
त्यही विवादका क्रममा गुप्तामाथि कुटपिट भएको र उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले बताए।
आलमले विराटनगर–६ महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका छन्।
मोटरको तार चोरीको आरोपबाट सुरू भएको विवाद हत्या र शव लुकाउने प्रयाससम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भारतको वाराणसी स्थायी घर भएका गुप्ता करिब चार दशकदेखि विराटनगरमा बस्दै आएका थिए। विराटनगर–६ धरान रोडमा उनले लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स सञ्चालन गर्दै आएका थिए।
गुप्ता कात्तिक ८ गते शुक्रबार अपराह्न करिब ४ बजेर ४७ मिनेटदेखि सम्पर्कविहीन भएका थिए।
त्यसको भोलिपल्ट शनिबार बिहान करिब १० बजे सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलाको किनारमा उनको शव फेला परेको थियो। स्थानीयबाट शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो।
घटनाको अनुसन्धानका लागि प्रहरीले प्रहरी अधिकृतसहित तालिमप्राप्त कुकुर र त्यसको टोली परिचालन गरेको थियो । घटनास्थलको निरीक्षण, मुचुल्का तयार पार्ने र उपलब्ध प्रमाण संकलन गर्ने कामसँगै प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले मंगलबार साँझ करिब ५ बजे तीनै जनालाई पक्राउ गरेको एसपी मल्लले बताए।
उनीहरूबाट घटनामा प्रयोग भएको भनिएको एक थान जिआई पाइप, गुप्ताले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव बोक्न प्रयोग गरिएको कार्टुन बरामद भएको प्रहरीले जनाएको छ।