लगातारको वर्षासँगै सिन्धुलीका तीन ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।
फिक्कल गाउँपालिका–६ नागस्थानमा शनिबार साँझ करिब ५:४५ बजे ठूलो परिमाणमा ढुंगा, माटो र लेदोसहितको पहिरो खस्दा सडकको दुवैतर्फ आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाउने कार्य सुरू गर्न नसकिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली खटिएको छ।
त्यस्तै, गोलन्जोर गाउँपालिका–६ अक्करे भिरमा पनि वर्षाका कारण खसेको पहिरोले सडक एकतर्फी अवरूद्ध भएको प्रहरीले जनाएको छ।
वर्षा नरोकिएकाले पहिरो हटाउने काम सुरू गर्न कठिनाइ भएको र आवश्यक उद्धार तथा व्यवस्थापनका लागि अस्थायी प्रहरी चौकी हैवारवेशीबाट टोली खटाइएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै दुम्जामा पनि पहिरोले सडक अवरूद्ध भएको छ।