निरन्तरको वर्षाका कारण सिन्धुलीका विभिन्न स्थानमा पहिरो खसेपछि मुख्य सडकखण्डहरू अवरूद्ध भएका छन्।
बिपी राजमार्गदेखि मध्यपहाडी र मदन भण्डारी राजमार्गसम्मका केही खण्ड अवरूद्ध भएको हो।
अविरल वर्षाका कारण सुनकोशी गाउँपालिका–१ गजुली दहस्थित बिपी राजमार्गमा माथिबाट ढुंगा र माटो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सोही सडकखण्डको नेपालथोक क्षेत्रमा रोशी खोलाले करिब २५० मिटर सडक कटान गरेर सडक पूर्णरूपमा बगाएको छ।
त्यस्तै, सुनकोशी–६ कानढुङग्रेमा ढुंगासहितको पहिरो खसेर बाटो एकतर्फी मात्र सञ्चालनयोग्य रहेको प्रहरीले जनाएको छ।
यसैगरी, फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरो खसेर बाटो दुईतर्फी बन्द भएको छ।
अवरोध हटाउनका लागि खुर्कोटबाट जेसीबी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।
गोलन्जोर–६ अक्करे भिरमा पनि पहिरोले सडक एकतर्फी बन्द पारेको छ। खुर्कोटबाट मेसिन आइपुग्नेबित्तिकै अवरोध हटाइने जनाइएको छ।
यस्तै, मदन भण्डारी राजमार्ग अन्तर्गत मरिन गाउँपालिका–२ सिन्दुरे दोभानमा खसेको पहिरोले सडक अवरूद्ध पारेको छ।
त्यस्तै, हरिहरपुरगढी गाउँपालिका–४ हाकपारामा खसेको पहिरोले सडक अवरुद्ध पारेको र मेसिनरी सहयोगको आवश्यकता रहेको जनाइएको छ।
कमलामाई नगरपालिका–८ हर्दियामा पनि खोला र पहिरोका कारण सडक अवरुद्ध भएको छ। स्थानीयवासीहरूले लोडर प्रयोग गरी अवरोध पन्छाउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ।