बर्दियामा एक बालिकाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ।
गेरुवा गाउँपालिका–५ झबही गाउँकी १० वर्षीया एन्जल भनिने भारती देउवाको शव गुडीखोलाको किनारामा गाडिएको अवस्थामा फेला परेको हो।
एन्जलको शव घरदेखि झन्डै २ किलोमिटर उत्तरमा खोजी गर्ने क्रममा सोमबार दिउँसो फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए।
एन्जल असोज १७ गते दिउँसो गणेशपुरस्थित आफन्तको घरमा बिहेमा सहभागी हुन गएकी थिइन्। त्यहाँ पुगेपछि उनी पुनः कपडा फेरेर आउँछु भनेर घरतर्फै फर्केकी एक स्थानीयले बताए।
जिन्स लगाएर गएकाले त्यहाँ पुगेपछि आमालाई फोन गरेर कपडा फेर्न आउँछु भनेर साइकलमा फर्किएकी उनी त्यही दिनदेखि बेपत्ता भएकी थिइन्।
बेलुकीसम्म घर नफर्किएपछि एन्जलका बुवा प्रकाश देउवाले राति सवा ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए।
डिएसपी बोहराका अनुसार खोजी गर्ने क्रममा असोज १८ गते दिउँसो गेरुवा गाउँपालिका–५ मुलपानी गुडीखोला क्षेत्रमा एन्जलले प्रयोग गरेको साइकल फेला परेको थियो।
स्थानीय र प्रहरी मिलेर मुलपानी क्षेत्रको एउटा इन्टेकको पानी सुकाएपछि एन्जलको पहेँलो रंगको साइकल फेला परेको थियो।
त्यसपछि प्रहरी र स्थानीय मिलेर आसपासको झाडी सफा गर्दा एन्जलले लगाउने चप्पल फेला परेको डिएसपी बोहोराले जानकारी दिए।

थप खोज र अनुसन्धानकै क्रममा असोज २० गते पौने ४ बजेतिर गुडीखोलाको किनारामा गाडिएको अवस्थामा एन्जलको शव फेला परेको हो।
‘खोला छेउमै जमिनको सतहभन्दा केही मुनि हल्का पुरिएको अवस्थामा बालिकाको घोप्टो अवस्थामा शव फेला परेको हो,’ डिएसपी बोहोराले भने, ‘गाडिएको स्थानमा चिरा परेको देखेपछि स्थानीयले खबर गरेका थिए।’
प्रहरीका अनुसार शव सोमबार नै पोस्टमर्टमका लागि बर्दिया जिल्ला अस्पताल पुर्याइएको थियो।
मंगलबार बर्दियाबाट शव पोस्टमर्टमका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ।
‘नेपालगञ्जमा एक जना फरेन्सिक विज्ञ डाक्टर हुनुहुन्छ,’ डिएसपी बोहोराले भने, ‘शव पोस्टमर्टमका लागि त्यहीँ पठाउने तयारी छ।’
बालिकाको हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।