आइतबार नेपाल प्रहरीले तेन्जिङ दावालाई नियन्त्रणमा लिएको छ।
उनले 'टिओबी' लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर र भिडिओ सामाजिक सन्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार तेन्जिङ दावाको मामिलामा हाल 'स्क्रिनिङ' भइरहेको छ। उनीबाट पेस्तोल बरामद भए/नभएको भन्ने यकिन छैन।
प्रहरी स्रोतका अनुसार तेन्जिङमाथि हतियार बोकेकोसँगै उनले लगाएको टिओबी टिसर्टबारे पनि जाँझबुझ भइरहेको छ।
केही दिनयता सामाजिक सञ्जालहरूमा टिओबी लेखिएको टिर्सट/ज्याकेट लगाएका केही व्यक्तिहरूको भिडिओहरू अहिले चर्चामा छन्।
ती भिडिओ गत भदौ २३ र २४ मा भएको आन्दोलनका हुन्। कालो रङमा टिओबी लेखिएको टिसर्ट/ज्याकेट लगाएका युवाहरूको एक ठूलो समय मोटरसाइकलमा लश्कर लगाइरहेको देखिन्छ।
सो समूहका एक जनाले भिडलाई सम्बोधन पनि गरिरहेका देखिन्छन्। उनी आइतबार पक्राउ परेका तेन्जिङ दावा भएको बताइएको छ। सो भिडिओमा देखिए अनुसार उनले टिओबी लेखिएको कालो ज्याकेट लगाएका छन् भने टिओबी नै लेखिएको कालो झन्डा पनि फहराएका छन्।
यी भिडिओ भाइरल भएपछि अहिले धेरैले जेनजी आन्दोलनमा फ्री–तिब्बत अभियानको संलग्नता रहेको बताइरहेका छन्। आन्दोलनमा चीनविरोधी यो अभियानको भूमिका रहेको टिप्पणी समेत गरेका छन्।
यसको कारण पनि सो समूहले लगाएको टिओबी लेखिएको टिसर्ट/ज्याकेट नै हो। टिओबी भनेको फ्री–तिब्बत अभियानको एक समूह हो जसको पूरा अर्थ 'टिबेटियन ओरिजिनल ब्लड' हो।
सामाजिक सन्जालमा भाइरल भएको तस्बिरमा देखिएका व्यक्तिले लगाएको ज्याकेटमा प्रस्ट रूपमा 'टिबेटियन ओरिजिनल ब्लड' लेखेको पनि देख्न सकिन्छ।
तेन्जिङ दावाको नाममा भएको एक सामाजिक फेसबुक खातामा पनि 'टिबेटियन ओरिजिनल ब्लड' लेखिएको फोटो देख्न सकिन्छ।
धेरैले यिनै आधारमा तेन्जिङ दावा र उनको समूहमाथि आशंका गरेका हुन्।
'टिओबी' नामको सामाजिक सञ्जाल खाता पनि छ। तर यो खातामा टिओबीको पूरा रूप 'द ओरिजिनल ब्रदर्स' भनेर लेखिएको छ। यसलाई एक बाइकर समूह भनेर उल्लेख गरिएको छ।
यो खाताको नाम पहिले 'टिबेटियन ओरिजिनल ब्लड' थियो। यो समूहकै केही सदस्यले भने यसमा रहेको 'टिबेटियन' शब्द नेपालको भोट समुदायसँग सम्बन्धित थियो भनेर स्पष्टीकरण दिएका छन्।
आइतबार प्रहरीले जुन भिडिओका आधारमा तेन्जिङ दावालाई पक्राउ गरेको छ, त्यसमा पनि उनले टिओबी लेखिएको टिसर्ट लगाएका छन्। उनले ढाडमा बन्दुक राख्दै गरेको सो भिडिओ जेनजी आन्दोलनको बेलाको भनिएको छ।
तर मिडियाहरूलाई दिएको टेलिफोन अन्तर्वार्तामा टिओबी समूहका एक सदस्यले सो भिडिओ गत अप्रिलको भएको बताएका छन्। उनले सो भिडिओ 'रमाइलो' का लागि यसै खिचिएको भन्दै बन्दुक पनि नक्कली भएको बताएका छन्।
यो टिओबी समूहका बाइक र्यालीदेखि आन्दोलनमा सहभागी भएको र अन्य केही भिडिओहरू अहिले सामाजिक सञ्जालहरूमा भाइरल छन्। ती भिडिओहरू कुन कुन मितिका हुन् भन्नेबारे अहिले यकिन छैन।
प्रहरी स्रोतले भने सो भिडिओ र समूहबारे अनुसन्धान गर्ने बताएको छ।