पेस्तोल देखाएर भिडिओ बनाउँदा पक्राउ परेका तेन्जिङ दावा लामाको जन्मदर्ता र नागरिकताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले तेन्जिङलाई पक्राउ गर्दा एउटा नक्कली पेस्तोल पनि बरामद गरेको छ। जसलाई उनले भिडिओ बनाउन प्रयोग गरेको भेटिएको हो।
जेनजी आन्दोलन भड्काउन उनीसहित टिओबी अर्थात तिब्बतियन ओरिजिनल ब्लड समूहको संलग्नता रहेको भन्दै प्रचार भएको थियो। तेन्जिङले बिजुली बजारमा बनाएको एउटा भिडिओलाई आधार बनाएर उनीहरूले नै हिंसा भड्काएको आरोप लगाइएको थियो।
तर उक्त भिडिओ केही महिनाअघि नै बनाएको खुल्यो।
अहिले परिसरको हिरासतमा रहेका उनीमाथि प्रहरीले अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएको छ।
प्रहरीले उनको जन्मदर्ता र नागरिकतामा कैफियत हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको हो।
उनी काठमाडौं महानगरपालिका-६ बौद्धमा २०५३ माघ २१ गते जन्मिएको जन्मदर्ता र नागरिकतामा देखिएको प्रहरीले बताएको छ।
उनले प्रशासन कार्यालयबाट २०७९ असार २४ गते नागरिकता लिएको प्रहरीले बताएको छ।
त्यस्तै जन्मदर्ता भने २०६३ चैत १० गते दर्ता गरेको प्रमाणपत्र फेला परेको छ। तर प्रमाणपत्र दर्ता गरेको दिन शनिबार परेको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।
‘शनिबार कार्यालय बन्द हुने हो। तर उहाँको शनिबार जन्मदर्ता भएको देखियो। के हो भनेर हामीले बुझ्दैछौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने।
प्रशासन कार्यालय र वडालाई पत्राचार गरेको उनले बताए।
तेन्जिन पेसाले ट्याटु आर्टिस्ट र गायक हुन्।
उनी बौद्धमा डेरा गरी बस्दै आएका छन्। प्रहरीले उनको साथबाट वाकीटकीको चार्जर पनि फेला पारेको छ।
उनको भदौ २३ गते भएको आन्दोलन भड्काउनमा भूमिका रहे/नरहेकोबारे पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ।
उनले आफ्ना बुबाको ७ वर्षअघि नै मृत्यु भएको र आमा भारतमा रहेको बयान प्रहरीसँग दिएका छन्। त्यस्तै आफ्नी दिदी पनि रहेको बताएका छन्।
‘दिदीसँग सम्पर्क गराउनु भनेर भनेका छौं। तर सम्पर्क हुनसकेको छैन,’ एसपी भट्टराईले भने।
तेन्जिङले आफ्नो कपडामा रहेको टिओबीबारे पनि प्रहरीसँग बताएका छन्।
उनले आफूहरू बाइकर्स समूह भएको र त्यसमा अन्दाजी ५० जना जति संलग्न रहेको पनि बताएका छन्। उनले कपडामा डिजाइन पनि आफै बनाएको बताएका छन्।
प्रहरीले टिओबी समूहको नाम उल्लेख भएको डायरी पनि बरामद गरेको छ।