कुनै पनि गम्भीर अवस्थाको बिरामीलाई आराम र सहज होस् भने दिइने सेवालाई प्यालिएटिभ केयर (प्रशामक स्वास्थ्य) भनिन्छ।
यसमा रोगको उपचार गर्ने भन्ने हुँदैन। रोगले बिरामीलाई कति गाह्रो बनाइरहेको छ, त्यसको लक्षणात्मक उपचार र हेरचाह हुन्छ। त्यससँगै शारीरिक, मानसिक तथा आध्यात्मिक तरिकाले बिरामीको पीडा कसरी कम गर्न सकिन्छ भनेर परामर्श गरिन्छ।
जटिल र निको नहुने तर लामो समयसम्म प्रताडीत गर्ने रोग लागेका बिरामीका लागि यो सेवाको धेरै महत्व हुन्छ। खासगरी क्यान्सरका बिरामीका लागि। यसबाहेक मुटु, फोक्सो, मिर्गौला या अन्य दीर्घरोग भएका बिरामीलाई यस्तो उपचार सहयोगी हुन्छ।
हामीले बुझ्नुपर्ने कुरा के भने, यो सेवा गम्भीर र दीर्घ रोगहरूमा मात्रै प्रयोग हुन्छ। यसमा बिरामीलाई सामाजिक र मनोवैज्ञानिक रूपमा कसरी साथ दिने भन्ने हुन्छ।
भक्तपुर क्यान्सर अस्पतालमा आउने आधा बिरामी बचाउन सकिँदैन। किनकि धेरै बिरामी क्यान्सरको अन्तिम अवस्थामा आएका हुन्छन्। त्यसैले उनीहरूलाई प्यालिएटिभ उपचार जरूरी पर्छ।
उदाहरणका लागि, बिरामीलाई पेटको क्यान्सर छ भने किमोथेरापी लगायत उपचार गरिन्छ। त्यही कारण बिरामीलाई दुखिरहेको, पोलिरहेको, मानसिक तनाव भइरहेको हुन सक्छ। त्यसैले बिरामीलाई सक्रिय उपचारसँगै प्यालिएटिभ उपचार गर्नुपर्छ भन्ने मान्यता हो।
कुनै हालतमा निको नहुने भएपछि, किमोथेरापी नदिई राम्रोसँग हेरचाह गरेर राख्न सकिन्छ।
जुन दिन बिरामीको अब ठीक हुँदैन, उसको अन्तिम अवस्था आउँदैछ भनेर हामी बुझ्छौं, बिरामी, बिरामीका आफन्त र डाक्टरसहित उपचार टोली बसेर बिरामीलाई सहज बनाउन के के गर्न सकिन्छ, त्यो गरौं भन्ने निष्कर्ष निकालिन्छ। बिरामीले यस्तो अवस्थामा लामो समय पनि पाउन सक्छन्।
प्यालिएटिभ केयरमा बिरामीको हेरचाहका साथै, सान्त्वना दिने, दुखाइ कम गर्ने औषधि दिइन्छ। परामर्श पनि गरिन्छ। त्यस्तै अस्पतालमै राखेर हेरचाह गर्न सकिन्छ।
क्यान्सरको उपचार प्रक्रिया लामो हुन्छ। उपचार गर्दै जाँदा कतिपय बिरामी आर्थिक, सामाजिक, शारीरिक र भौतिक रूपमै थाक्छन्।
त्यो अवस्थामा बिरामीलाई महिनौंसम्म प्यालिएटिभ केयर दिनपर्दा आर्थिक रूपमा धेरै गाह्रो भइरहेको हुन्छ। सरकारी अस्पतालमै उपचार गर्दा पनि खर्च हुन्छ।
त्यसैले भक्तपुर क्यान्सर अस्पतालमा हामीले बेडहरू निःशुल्क गरेका छौं। खान, बस्ने खर्चमा आर्थिक सहयोग गर्न सकियोस् भनेर 'प्यालिएटिभ केयर फन्ड' स्थापना गरेका छौं। यसमा दाताहरूले सहयोग गरेका छन्। प्यालिएटिभ केयर चाहिने गरिब बिरामीका लागि यो कोषले सहयोग गर्छ।
कोषमा व्यक्तिगत र संस्थागत रूपमा जो कोहीले सहयोग गर्न सकिन्छ। हामीले कोषलाई व्यवस्थित गर्न सञ्चालक समिति बनाएका छौं। समितिले नै बिरामीको अवस्था हेरेर कसरी र कति सहायता दिने भनेर निर्णय गर्छ।
यसो भन्दै गर्दा प्यालिएटिभ केयर एकदमै जटिल र ठूलो कुरा होला भन्ने लाग्ला। होइन। यो सामान्य हो र जसले पनि गर्न सक्छ। यसका लागि अलग्गै प्रविधि चाहिने होइन।
बिरामीलाई दुखाइ धेरै हुनाले औषधि चाहिन सक्छ तर ठूला ठूला उपकरण केही चाहिँदैन। यस्तो हेरचाह श्रीमान, श्रीमती, छोरा, छोरी वा आफन्त जसले पनि गर्न सक्छ। हेरचाहकर्ताले स्वास्थ्यकर्मीबाट सामान्य तालिम लिन सक्छन्।
अहिले यो सुविधा सीमित अस्पतालहरूमा छ। देशभरका स्वास्थ्य संस्थामा विस्तार गर्न जरूरी छ।
केही समयअघि मात्र 'नेपाल प्रशामक सेवा रणनीति' पारित भएको छ। त्यस अन्तर्गत आगामी १० वर्षभित्र नेपालभरिका स्वास्थ्य संस्थाहरूमा प्यालिएटिभ केयरको तालिम दिने भनिएको छ। समुदायमा यसबारे छलफल गर्ने र पालिकाहरूमा लैजाने लक्ष्य छ।
(वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्वल चालिसे भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन्।)