आफ्नो ड्युटी पूरा गरेर तिहार मनाउने तयारी गर्नुपर्ने बेला रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरू भने आन्दोलनमा उत्रिएका छन्।
मेडिकल कलेजमा कार्यरत नर्सिङ कर्मचारीहरूले आफ्नो काम जारी राख्दै मेडिकल कलेज परिसरमा प्लेकार्डसहित धर्ना र नाराबाजी गर्दै प्रदर्शन गर्दै आएका छन्।
नेपाल सरकारले तोके अनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने, ज्यालादारीमा काममा लगाउन नपाइने, सक्कल शैक्षिक प्रमाणपत्र अस्पतालले राख्न नपाइने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने लगायतका मागहरू राख्दै नर्सिङ स्टाफहरू आन्दोलनमा उत्रिएका हुन्।
मेडिकल कलेजको सेवासँगै आइतबारदेखि आन्दोलनमा उत्रिएका नर्सिङ स्टाफहरूले मेडिकल कलेजमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने, श्रम ऐन र स्वास्थ्य सेवा मापदण्ड अनुसार उचित ड्युटी समय, विश्राम र बिदाको सुविधा दिनुपर्ने, नर्स तथा पारामेडिक्स हरूलाई स्वास्थ्य सेवाको आधारमा मान्यता र सम्मान दिनुपर्ने, मेडिकल कलेजभित्र पर्याप्त चेन्जिङ रूम, नर्सिङ रूम र लकरको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन्।
बिहान १० बजेदेखि मेडिकल कलेज परिसरमा धर्ना तथा प्रदर्शनमा उत्रिएका नर्सिङ स्टाफहरूले हामीलाई न्याय दे, श्रम शोषण बन्द गर, हामी मेसिन होइनौँ नर्स हौँ’ लगायत नारा लेखिएका प्लेकार्ड हातमा लिएर नाराबाजी गरिरहेका छन्।
आन्दोलित नर्सहरूले आफूहरूलाई कामको लोड अनुसारको पारिश्रमिक नदिइएको र अत्यन्त न्यून तलब भत्तामा बिरामीको सेवामा खटिनुपरेको बताए। नर्सहरूले मेडिकल कलेजले सेवा सुरु गर्दा अनमी र स्टाफ नर्सहरूलाई जम्मा १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको बताए।
‘सेवा सुरू गर्दा जम्मा १० हजार रुपैयाँ दिने गरिएको छ। चार पाँच वर्ष काम गरेका नर्सहरूको तलब स्केल १३ हजार मात्र तोकिएको छ। कतिपय दिदीहरू २४ वर्ष भयो मेडिकल कलेजमा काम गर्न थाल्नुभएको अहिले उहाँहरूको तलब स्केल १५ हजार छ। अरू भत्ता र ग्रेड गरेर जम्माजम्मी २३/२४ हजार रुपैयाँ बुझ्नुहुन्छ, जीवनभरि बिरामीको सेवा गरेर रिटायर हुने बेलामा छैटौँ तहको स्वास्थ्यकर्मीले पाउने तलब सुविधा त्यही हो त? उनीहरूले आक्रोश व्यक्त गरे।
मेडिकल कलेज प्रशासनले आन्दोलनमा अगुवाइ गर्नेहरूलाई ‘टार्गेट’ गरेको भन्दै उनीहरूले आफ्नो परिचय दिन भने मानेनन्।
‘यो हामी सबै नर्सिङ स्टाफहरूको आन्दोलन हो, एक दुई जनाको नाम लेख्दा जसको नाम आयो त्यही व्यक्ति मेडिकल कलेज प्रशासनको निशानामा पर्छ, हाम्रो आन्दोलनमा यहाँ कार्यरत ल्याब टेक्निसियन, फार्मेसीस्ट, रेडियोलोजीस्ट, सिएमए, हेल्थ असिस्टेन्ट लगायत सबै स्वास्थ्यकर्मीहरूको ऐक्यबद्धता छ,’ उनीहरूले भने।
उनीहरूले आफूहरूको हक अधिकारको लागि आन्दोलनमा उत्रिए पनि इमर्जेन्सी, डायलाईसिस सेवा, आइसियु, सिसियु जस्ता वार्डहरूको सेवा भने नरोकिएको बताए।
‘अस्पतालमा यसरी आन्दोलनमा उत्रिनु हामीहरूको रहर होइन बाध्यता हो, लाखौँ रुपैयाँ खर्चिएर मेहनत गरेर नर्सिङ पास गरेपछि १०/१२ हजार रुपैयाँको जागिरले के खाने, पढ्दा लागेको ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने,’ उनीहरूले भने।
नर्सिङ स्टाफहरू बिना कुनै पनि अस्पताल वा स्वास्थ्य संस्था नचल्ने भए पनि अस्पताल प्रशासनले भने सधैंभरि नर्सहरूको श्रम शोषण गर्दै आएको उनीहरूले गुनासो गरे।
सरकारले असङ्गठित र अदक्ष श्रमिकहरूका लागि पनि न्यूनतम १९ हजार पाँच सय ५० रुपैयाँ पारिश्रमिक तोकेको भन्दै उनीहरूले अस्पतालहरूले आफूहरूलाई अदक्ष कामदारको भन्दा पनि अत्यन्त न्यून तलब दिने गरेको बताए।
स्वास्थ्य मन्त्रालयको २०८१ साल मंसिर २७ गते निर्णय अनुसार निजी अस्पतालहरूमा कार्यरत नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई पनि सरकारी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मी बराबर तलब भत्ता उपलब्ध गराउन भन्दै निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरोको थियो।
निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूले मन्त्रालयको उक्त निर्णय कार्यान्वयन नगरेपछि गत असोज २४ गते पनि अघिल्लो मंसिरको निर्णय कार्यान्वयनको लागि भन्दै मन्त्रालयले पुनः अर्को पत्र पठाएको छ। तर, अस्पतालहरूले मन्त्रालयले दोस्रो पटक पठाएको पत्र अनुरूपको निर्णय पनि कार्यान्वयन गर्न आलटाल गरेपछि नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका सूचना अधिकारी सुशील गुरूङले नर्सहरूको आन्दोलनका कारण चाडपर्वको समयमा बिरामीहरूले दुःख पाइरहेको बताए।
‘अरू समयभन्दा चाडपर्वको समयमा मेडिकल कलेजमा बिरामीहरूको चाप बढी हुने गर्छ, दुर्घटनाका घटना पनि बढी हुने गर्छन् तर, नर्सिङ स्टाफहरूको आन्दोलनका कारण नयाँ बिरामी हेर्ने र भर्ना गर्ने काम रोकिएको छ,’ उनले भने।
गुरूङले नर्सिङ स्टाफहरूले अस्पताल प्रशासनलाई मागबारे सुनुवाइका लागि पनि कुनै समय नदिई आन्दोलनमा उत्रिएको बताए।
‘उहाँहरूले अस्पताल प्रशासनलाई शुक्रबार एउटा माग पत्र दिनुभएको थियो। शनिबार बिदा भई हाल्यो, आइतबारदेखि आन्दोलनमा उत्रिई हाल्नु भयो, उहाँहरूले मागबारे बसेर छलफल गर्ने कुनै समय नै दिनुभएन,’ गुरूङले भने।
आन्दोलनरत नर्सहरूले पनि सरकारले २०८१ सालमा पठाएको पत्रको कार्यान्वयन गर्ने बारे एक वर्ष सम्म बेवास्ता गरेर अस्पताल प्रशासनले अझै दुई साताको समय मागेको बताए।