पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान पासपोर्ट रोक्का र काठमाडौं उपत्यका छाड्न रोक लगाएको छ।
यसरी गरिएको निर्णय गैरकानुनी भएको र सम्मानपूर्वक बाँच्न पाउने अधिकारविरूद्ध भएको भन्दै रिट पेस भएको छ।
अधिवक्ता सिलवालले उक्त निर्णयलाई खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेशको माग गरेका हुन्।
रिटमा पासपोर्ट रोक्का गर्ने र स्थान हद तोक्ने निर्णयले संविधानको सम्मानपूर्वक बाँच्न पाउने हकलाई हनन गरेको आरोप छ। साथै स्वतन्त्रतामा समेत असर गरेको भनिएको छ। उक्त रिट सर्वोच्चमा दर्ता भइसकेको छैन। सर्वोच्च प्रशासनले उक्त रिटलाई अध्ययन गरिरहेको छ।
यसअघि सर्वोच्चमा १० वटा भन्दा बढी रिट संसद विघटन र सरकार गठनविरूद्ध परेका छन्। उक्त रिटको पहिलो सुनुवाइ बुधबार हुँदैछ।