जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको प्रहरी प्रभाग बुंगमती–भैंसेपाटीको भवन पुनर्निर्माण भएको छ।
उक्त पुनर्निर्माण कार्य प्रगति युवा क्लब ललितपुर–२५ सैंबु भैसेपाटी र स्थानीय समुदायको अग्रसरतामा सम्पन्न भएको हो।
आज एक विशेष समारोहकाबीच भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
भवन पुनर्निर्माण कार्यमा करिब रु. ५० लाख खर्च भएको छ।
नयाँ प्रशासनिक भवन र व्यारेक अत्याधुनिक सुविधा सहित भवन पुनर्निर्माण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीले भवनको उद्घाटन गरी नेपाल प्रहरीको तर्फबाट पुनर्निर्माणमा सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद व्यक्त गरे।
एआइजी दानबहादुर कार्कीले भने, ‘जेनजी आन्दोलनका क्रममा क्षति पुगेको यो भवनको पुनर्निर्माण स्थानीय समुदाय र प्रहरीबीचको असल साझेदारीको उत्कृष्ट उदाहरण हो। प्रहरीले जनताको सुरक्षा र सेवामा कहिल्यै पछि हट्दैन, तर यस्तो आपतका बेला समुदायले साथ दिनु वास्तवमै प्रेरणादायी छ।’
उनले थपे, ‘५० लाख रुपैयाँ बराबरको सहयोग जुटाएर प्रहरी भवन पुनर्निर्माण गर्नु केवल भौतिक पुनर्स्थापना होइन, जनताको सुरक्षामा गरेको लगानी हो।’