मोन्था चक्रवातले निम्त्याएको अविरल वर्षाले फेरि सडकमा क्षति पुर्याउन थालेपछि इलामका दुई मुख्य बाटोहरु बन्द भएका छन।
मेची राजमार्गअन्तर्गत राजदुवाली सडक खण्डमा सडक भासिन, चिरिन र दबिन थालेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाम प्रशासनले जनाएको छ।
त्यस्तै, तिल्केनी–सिमलगोलाइ–शिल्पुर सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
जिल्ला प्रशासनले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म यी दुबै सडक खण्ड हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जानकारी गराएको हो।
प्रशासनले  सुरक्षाको दृष्टिले यात्रु, सवारी चालक र स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
निरन्तर वर्षाका कारण सडकको भौतिक अवस्था कमजोर बनेकाले जोखिमपूर्ण यात्रा नगर्न पनि प्रशासनले चेतावनी दिएको छ।
स्थानीय प्रशासनका अनुसार सडक मर्मत तथा पहिरो पन्छाउने काम सुरु गर्ने तयारी भइरहेको छ। निरन्तर वर्षाका कारण केही स्थानमा बाटोको साइड कटान र पानीको बहाव बढेको छ।
असोजको बाढीपहिरोले ठूलो क्षति गरेको पूर्वी पहाडी जिल्ला  इलाममा मोन्था चक्रवातको असर पनि देखिन थालेको हो।